काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ । स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।
प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहमा विभाजन गरी छलफल हुने माओवादीले जनाएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् ।
बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् ।
आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।