काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा निहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारीसाधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नुनपर्ने लगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णयबमोजिम यस वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो । ‘सभ्य नागरिकको पहिचान: ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।
सन्देशमा राष्ट्रपति भण्डारीले कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र उनीहरूको सहज जीवनयापनका लागि ठोस पहल गर्न सबैमा आग्रह गर्नुभएको छ ।
“जीवनको उर्वर समय परिवारको लालन पालनका साथै समाज र राष्ट्रको सेवामा समर्पित भई अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र अनुभवका खानीसमेत हुन्”, सन्देशमा उहाँले भन्नुभएको छ, “स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु तथा मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उहाँको विश्वास छ ।
ज्येष्ठ नागरिकलाई घर, परिवार एवं समाजबाट आदर, सम्मान र संरक्षण सुनिश्चित गर्न सके मात्र यो नारा सार्थक हुनसक्ने उहाँको भनाइ छ ।