काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिमेकी मुलुकसँग आफूहरूले आँखामा आँखा जुधाएर कुरा गर्नसक्ने वातावरणको सिर्जना गर्न खोजेको बताउनुभएको छ ।
तिलक फिल्म प्रालिको पाँचौं वार्षिकोत्सवमा बोल्दै नेता पोखरेलले एमालेले छिमेकी देशसँगको सम्बन्ध बलियो बनाउन चाहेको बताउनुभएको छ ।
‘यहाँ विदेशी शक्तिसामु लम्पसार पर्ने प्रवृत्ति छ । छिमेकीले कुनै गल्ती गर्दा हामी बोल्न सक्दैनौं । तर, एमाले त्यसको खिलाफमा छ । हामी आँखामा आँखा जुधाएर कुरा गर्नसक्ने स्थिति सिर्जना गर्न चाहन्छौं,’ उहाँले भन्नुभयो ।
उहाँले अहिले नेपाली राजनीतिमा दुई धार रहेको धारणा राख्नुभएको थियो । एउटा जनताको पक्षमा काम गर्ने र अर्को कुर्सीको लागि मरिहत्ते गर्ने गरी दुई धार रहेको उहाँले बताउनुभयो ।
‘हामी प्रगति चाहन्छौं । जनतालाई समृद्धिका सपना बाँड्छौं । सोही अनुसार काम पनि गर्छौं,’ उहाँले भन्नुभयो, ‘अर्को गठबन्धन छ । जसले कहिले काम गर्दैन । सधैँ कुर्सीकै लागि मरिहत्ते गर्छ ।’
उहाँले फरक प्रसंगमा बोल्दै कला, संस्कृतिको समृद्धिले मात्रै मुलुक समृद्ध हुनसक्ने बताउनुभयो । राजनीतिले विखण्डन ल्याएमा त्यसको एकता गीत, संगीतले नै गर्ने उहाँले बताउनुभयो ।
























