काठमाडौं । लालपूर्जा पाउनुपर्ने माग राख्दै चितवनको बाँदरझुलाका स्थानीयहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गर्नुपरेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले बताउनुभयो ।
बाँदरझुला सुकुम्बासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा देउ, धर्ती आकाश साझा हो, बाँदरझुलालाई न्याय खै?, लगायत लेखिएको प्लेकार्ड तथा व्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघर मण्डलाबाट वानेश्वरस्थित संसद भवनअगाडिसम्म प्रदर्शन गरेका थिए ।
आफूहरुको माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा आजैबाट अनिश्चितकालीन रिले अनशन शुरु गर्ने प्रजाले बताउनुभयो ।
०४७ कात्तिक २२ गतेदेखि विभिन्न जिल्लाका सुकुम्बासी नागरिकहरु बाँदरझुलामा बस्दै आए पनि सरकारले सुकुम्बासीको व्यवस्थापनमा चासो नदेखाएपछि आफूहरु बाध्य भएर काठमाडौंमै आएर प्रदर्शनमा उत्रिनुपरेको उहाँको भनाइ छ ।























