काठमाडौँ । नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी रु ७० करोड र जारी पुँजी रु ६८ करोड ७५ लाख पुर्याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ ।
हालै सम्पन्न कम्पनीको साधारणसभाले रु १३ करोड ७५ लाख बराबरका साधारण शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
कम्पनीका अध्यक्ष आनन्दकुमार बगडियाले कम्पनीलाई थप विस्तार गर्ने उद्देश्यका साथ साधारण शेयर बिक्री गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो । एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कुल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ ।
निम्बस ग्रुप, शिखर इन्स्योरेन्स, एनएमबी बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको यस कम्पनीमा थप केही व्यावसायिक र वित्तीय संस्थाले रु १५ करोड लगानी गरिसकेका छन् । कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयर हाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टान्सपोटेसन र वन स्टप एग्रो सोलुसनलगायतका सुविधा उपलब्ध गराउनेछ ।
निर्माणाधीन तीन एकाइमध्ये सुनसरीको औरावानीस्थित कार्यालयबाट आगामी दुई महिनाभित्र व्यावसायिक काम सुरु हुने कम्पनीले जनाएको छ । (रासस)

























