ललितपुर । गोदावरी नगरपालिकासँग स्थानीय किसानको गुनासो नै गुनासो रहेको पाइएको छ । चापागाउँमा आयोजित स्थानीय जनप्रतिनिधिसँग कृषकका कुरा कार्यक्रममा किसानहरुले मेयर जगेन्द्र महर्जनसँग दर्जनौं गुनासा सुनाए ।
ललितपुर लेलेका किसान रामकृष्ण श्रेष्ठले आफूले नगरपालिकाले वितरण गर्ने बिउमल र कृषि औजारजस्ता सामग्री नपाएको दुखेसो पोखे । उनले किसानले फर्म दर्ता नगरी अनुदान नपाउने अनुदान पाउनकै लागि धेरै पैसा खर्च गर्ने किसानसँग पैसा नभएको भन्दै समस्या राखेका थिए ।
छम्पीका बिउ व्यवसायी कृष्णबहादुर घिमिरेले यस ठाउँमा तरकारी बाली चोरीको समस्या रहेको बताए । उनले भने, ‘त्यसैले म बिउ व्यवसायमा संलग्न छु । तर नगरपालिकाले हाम्रो बिउलाई गुणस्तर प्रमाणित नगरिदिएकाले हेटौंडा जानुपर्ने बाध्यता छ ।’
घिमिरेले नगरपालिकाले स्थानीय बिउलाई प्रवर्द्धन गर्नुपर्ने सुझाव दिँदै हाइव्रिड बिउका कारण रोग बढेकाले स्थानीय बिउ हराएर जाने खतरा बढ्दा बिउसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘भोकमरी लागे हामीले बिउ पाउँदैनौं ।’
टाहाखेलका बाबुकाजी नगरकोटीले देशका विभिन्न ठाउँबाट गोदावरीमा आएर करोडौं लगानी गर्नेले लाखौँ अनुदान कुम्ल्याउने गरेको तर रैथाने किसानले एक रुपैयाँ पनि नपाएको गुनासो पोखे । उनले भने, ‘साना किसानको परिचय पत्र वितरण गरेर रैथाने किसानलाई नगरपालिकाले संरक्षण गर्नुपर्छ ।’
लेलेकी किसान गीता थापा कुटोकोदालो गरेर खेती गरेर परिवार पालेको अवस्थामा आफूलाई अनुदानबारे कसैले जानकारी नदिएको बताइन् । उनले भनिन्, ‘खेती नगर्नेले बिउ लिएर घरमा राख्छन् । हामीले पाउदैनौं ।’
थापाले गाउँघरमा एनजीओले बिउ बाँडेको स्मरण सुनाउँदै नगरपालिकाको कृषि कार्यक्रम प्रभावकारी नभएको गुनासो गरिन् ।
चापागाउँका च्याउ किसान विकास देशारले च्याउ खेती प्रवर्द्धन गर्न नगरपालिकाले विशेष योजना ल्याउन माग गरे । उनले भने, ‘चापागाउँ च्याउ खेतीका लागि प्रख्यात ठाउँ हो । तर भारतीय च्याउ २ सय रुपैयाँमा कालिमाटीमा झर्छ । हाम्रो लगानी नै प्रतिकेजी २ सय छ । लागत घटाउन विशेष अनुदान चाहियो ।’
स्थानीय किसान अस्मिता श्रेष्ठले तरकारीले बजार नपाएको मूल्य कम पाउने गरेको सुनाइन् । अस्मिता नगरकोटीले कुलोको समस्या रहेको नगरपालिकाले चेपकटर वितरण गरेको भए पनि आफूले नपाएको बताइन् । गीता विश्वकर्माले नगरपालिकाले किसानलाई तरकारी ढुवानीका लागि नि:शुल्क दिएको गाडीमा तरकारी बजार लैजान नपाएको गुनासो गरिन् ।
नगरपालिकाका कृषि शाखा प्रमुख टोपराज घिमिरेले फर्म दर्ता नभएका किसानले पनि अनुदान पाउने जानकारी दिएका थिए । उनले भने, ‘फर्म दर्ता भएसँगै कृषि सहकारी र कृषि समूहमा सदस्य भएर अनुदान पाउन सकिन्छ । अनुदानसम्बन्धी जानकारी नभएर यस्तो भएको हो । चासो देखाएर बुझे अनुदान पाइन्छ ।’
गोदावरी ९ का वडाध्यक्ष आत्माराम थापाले गैरकिसानले अनुदान पाएको तर वास्तविक किसानले अनुदान पाउन नसकेको स्वीकार गरे । उनले भने, ‘कर्मचारी र राजनीतिक दलका व्यक्तिले कागजी खेतीपाती गरेर अनुदान कुम्ल्याउँछन् । हामी रमिते बनेका छौं ।’
गोदावरी ५ का वडाध्यक्ष मिलन सिलवालले साना किसानले अनुदान नपाएको सन्दर्भमा के गर्ने भन्ने विषय सोचनीय रहेको बताए । उनले भने, ‘तर सबै किसानलाई नगरपालिकाले एक-एक बोरा मल र बिउ दिन सक्दैन ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले किसानले गोलभेंडा र मुला खेती गरेर उन्नति गर्न नसक्ने बताउँदै ठूला खेतीतर्फ लाग्न आग्रह गरे ।
गोदावरी ११ का वडाध्यक्ष निलबहादुर देशारले गाविस हुँदा किसानले स्थानीय सरकारबाट धेरै सहयोग पाएको बताए । आफू पनि किसान नै रहेको सुनाउँदै वडाध्यक्ष देशारले तल्लो तहका किसानले अनुदान नपाएको गुनासो सुन्नुपर्दा आफूलाई दुःख लाग्ने बताए ।
गोदावरी नगरपालिकाका मेयर जगेन्द्र महर्जनले आउँदो वर्ष बजेट बढाएर कृषि क्षेत्रको समस्या समाधान गर्ने आश्वासन दिए । उनले स्थानीय किसानलाई प्राथमिकता दिएको जानकारी दिँदै केन्द्र र प्रदेशको योजनाले ठूला अनुदान दिइरहेको तर नगरपालिकाले स्थानीय किसानलाई नै सहयोग गरेको बताए ।























