काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताउनुभएको छ ।
केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाउनुभएको हो । ‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ,’ ओलीले भन्नुभयो ।
कांग्रेस र माओवादीको आन्दोलनमाथि टिप्पणी गर्दै ओलीले ती आन्दोलनपछि देशको स्वाभिमान र सार्वभौमसत्तामा आँच आउने काम भएको आरोप लगाउनुभयो ।
कांग्रेस खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी शक्तिविरुद्ध लाग्ने गरेको आरोप लगाउँदै ओलीले प्रतिगामीको मतियार हुन कांग्रेसले छोड्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति गरेको दाबी गर्नुभएको छ ।
उहाँले १८ मंसिर २०६० मा ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएको दाबी गर्नुभयो । तर, सहमतिपत्रमा के के उल्लेख भएको थियो भन्ने खुलिनसकेको भन्दै उहाँले भन्नुभयो, ‘त्यो पाँच बुँदेमा के थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्यो, कि प्रचण्डले ।’
प्रचण्डको सहमतिमा ज्ञानेन्द्रले देशमा निरंकुशता ल्याएको भन्दै ओलीले भन्नुभयो, ‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गरे ।’
पाँच बुँदे सहमतिपछि ज्ञानेन्द्रले देशभर नागरिक अभिनन्दनको कार्यक्रम गर्दै देश दौडाहामा निस्किएको ओलीको आरोप छ ।