नेपाली कांग्रेसको नेतृत्व परिवर्तनका बाधक प्रकाशमान सिंह र विमलेन्द्र निधि बनेको कांग्रेस महाधिवेशनका दौरान देखिएको परिघटनाले प्रष्ट पारेको छ । यी दुवै नेताहरुको बोली र व्यवहारमा द्वैध चरित्र कांग्रेसको महाधिवेशनले देखाएको छ ।
नेपाली कांग्रेसको १४ महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिएर चुनाव लड्दा यी दुवै नेताहरुले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने एकमात्र एजेण्डा प्रस्तुत गरेका थिए । तर महाधिवेशनको पहिलो चरणको मत परिणाम प्राप्त हुँदा नहुँदै यी दुवै नेताहरुले आफ्नो स्वार्थी प्रवृत्ति देखाउँदै देउवासँग टाँसिन पुगे । कतिपय कांग्रेसी नेता तथा कार्यकर्ताले यी दुवैलाई शेरबहादुर देउवाले किनेको भन्नसम्म भ्याए । यस किसिमको यी दुवैको चरित्रले आगामी दिनमा कांग्रेसलाई नराम्रो बाटोतर्फ लागे आँकलन गर्न सकिन्छ । वर्षौँदेखि नेतृत्व परिवर्तनको रटान गर्न नथाक्ने यी नेताहरुले किन एकाएक देउवाको फेर समात्न पुगे यसको रहस्य आगामी दिनमा खुल्दै जाला । नेतृत्व परिवर्तनको सुवर्ण अवसर यी दुवै नेताहरुका गैरजिम्मेवार प्रवृत्तिका कारण गुम्न पुगेको छ ।
नेपाली कांग्रेसको सभापति पदका लागि लड्दै गर्दा डा. शेखर कोइरालाको एकमात्र रणनीति थियो– शेरबहादुर देउवालाई पहिलो चरणमा रोक्ने । सभापतिका अरु उम्मेदवारको पनि एजेण्डा नेतृत्व परिर्वतन भएकाले दोस्रो चरणमा उनीहरुको साथ लिएर देउवालाई हराउन सकिने उनको बुझाइ थियो । शेखर त्यसमा सफल पनि देखिए । कृष्णप्रसाद सिटौलाको समूहले समर्थन गर्दा पनि देउवाले पहिलो चरणमा बहुमत जुटाउन सकेनन् । सभापतिमा निर्वाचित हुन खसेको मत ४ हजार ६७९ को बहुमत अर्थात् २३४० चाहिन्थ्यो तर देउवाले २ हजार २५८ मात्र पाए । दोस्रो स्थानमा रहेका शेखरले १७०२ मत पाए ।
देउवा इतरका चार उम्मेदवारले पाएको मत बहुमत भएकाले उत्साहित शेखर र उनको टीमले संस्थापन इतरका सबैको साथ खोजे, तर प्रकाशमान र विमलेन्द्रका कारण परिणाम उल्टो आयो । सबैले देउवालाई साथ दिए । त्यसको सुरुवात प्रकाशमान सिंहले गरे ।
मतदान सकिँदा नसकिँदै देउवाको सन्देश बोकेर गृहमन्त्री बालकृष्ण खाँण, सिंहको निवास चाक्सीबारी पुगेका थिए । त्यसको केहीबेरमा प्रधानमन्त्री एवं काग्रेस सभापति देउवा आफैं चाक्सीबारी पुगे । भेटवार्तापछि देउवाको जादुको छडीले सिंहको मनस्थिति परिवर्तन गरायो र दोस्रो चरणमा देउवालाई समर्थन गर्न पुगे ।
आफूहरुले नेतृत्व परिर्वतन गर्नुपर्छ भनेर निर्वाचनमा भाग लिए पनि महाधिवेशन प्रतिनिधिको बहुमतले वर्तमान सभापतिलाई स्वीकार गरेको देखिएको र देउवाले विधान संशोधनदेखि अन्य कमीकमजोरी सुधारसम्मको प्रतिबद्धता जनाएको बनावटी कुरा प्रकाशमानले सुनाए । यसअघि देउवाले गरेका प्रतिबद्धता कति पुरा भए प्रकाशमानजी ? कांग्रेसी नेता कार्यकर्ताले तपाईलाई सोधेका छन् ।
सिंहको यो निर्णय देउवाका निम्ति पार्टी सभापतिमा दोहोरिने सञ्जिवनी बुटी बन्यो तर शेखरका लागि सरप्राइज ।
२०७४ मा संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरेका सिंहले त्यसयता उनको नेतृत्वमाथि लगातार प्रश्न गर्दै आएका हुन् । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिँदा पनि नेतृत्व परिर्वतन नै एजेण्डा बनाए पनि पछिल्लो उनको निर्णयले उनको राजनीतिक जीवनमा ठूलै घाटा बेहोर्नुपर्ने आवाज कांग्रेस वृत्तमा उठेको छ ।
देउवालाई समर्थन गर्ने सिंहको निर्णयको प्रभाव सभापतिका अर्का उम्मेदवार निधिमा पनि पर्यो । दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्ने आफ्नो अडानमा उनी ४८ घण्टा पनि टिक्न सकेनन् ।
२६ मंसिरमा मतदान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निधिले पहिलो चरणमा कसैको बहुमत नआउने, दोस्रो चरणमा तीन उम्मेदवार मिलेर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका उनको अडान धेरै टिक्न पाएन र उनी पनि देउवासँगै टाँसिएका छन् ।
परिणाम स्वरुप दोस्रो चरणको मतदानअघि देउवा आफ्नै निवासमा आएपछि निधिले आफैंले विद्रोह गरेको संस्थापन समूहका नेतालाई समर्थन गर्ने वचन दिए ।
२०७२ फागुनको १३ औं महाधिवेशनमा पनि देउवा पहिलो चरणमा ८ मतले बहुमतबाट चुकेका थिए । दोस्रो चरणमा तत्कालीन संस्थापन समूहबाट विद्रोह गरेका कृष्णप्रसाद सिटौलाको साथ पाएर कांग्रेस सभापति चुनिएका थिए ।
यो पटक सिटौलाले सुरुमै देउवालाई साथ दिए । तथापि, पहिलो चरणमा बहुमत पुगेन । यो पटक दोस्रो चरणमा प्रकाशमान सिंह र विमलेन्द्र निधिहरु १३ औं महाधिवेशनको सिटौलाको भूमिकामा देखिए । जसको नेतृत्व स्वीकार्य छैन भनेर सभापतिमा चुनाव लडे, उनलाई नै समर्थन गर्ने निर्णयमा पुग्नाले उनीहरुको राजनीतिक भविष्य कता जाने हो भनेर यसै भन्न सकिँदैन ।