काठमाडौं । नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापतिका लागि पाँचजना प्रतिस्पर्धामा छन् । १३४ पदका लागि आज चुनाव हुँदैछ । तर, लामाे समय संस्थापनइतर खेमाकाे नेतृत्व सम्हाल्दै आउनुभएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने मतदान बहिष्कार गर्नुभएको छ ।
पाैडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पनि यसकाे पुष्टि गर्नुभयो ।
पाैडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा हुनुहुन्थ्यो । उहाँ पनि सभापतिका आकांक्षी हुनुहुन्थ्यो । तर सहमति जुटन् नसकेपछि पाैडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिनुभयो साथै मतदानमा नै सहभागी नहुने घाेषणा गर्नुभयो ।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा रहनुभएको छ ।
पौडेल रुष्ट भएपछि देउवा उहाँकाे निवास पुग्नुभएको थियो । देउवाले आफूलाई सहयाेग गर्न वा अरुहरुकाे पक्षमा नखुल्न आग्रह गर्नुभएको थियो । देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताउनुभएको थियो ।