काठमाडौं । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताउनुभएको छ ।
महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिनुभएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताउनुभएको हो ।
उहाँले विपीले परिकल्पना गरे जस्तो र शुवर्ण शमसेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाले सपना देखेअनुसारको पार्टी बनाउन आफ्नो टिम सक्षम रहेको दाबी गर्नुभयो ।
कांग्रेसमा आवश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको बताउनुभएको हो । उहाँले ऊर्जा र अनुभवसहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उहाँले कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।




















