काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मनोनयन प्रक्रिया सकिनै लाग्दा कांग्रेसभित्रका परम्परागत समूहमा विभाजन देखापरेको छ ।
१३औं महाधिवेशनमा देखापरेको दुई समूह विभाजित भई झन्डै आधा दर्जन समूह निर्माण भइसकेका छन् भने दुवै समूह एकअर्कामा समाहित हुने क्रम पनि जारी छ ।
कांग्रेस संस्थापन पक्षको नेतृत्व गर्दै आउनुभएका शेरबहादुर देउवा समूहबाट अलग भएर उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने हुनुभएको छ भने संस्थापनइतरका रामचन्द्र पौडेल समूह विभाजित भएर आधा दर्जन पुगेको छ ।
महाधिवेशनको रौनकमा अप्ठ्यारोमा परेको पौडेल समूहबाट अलग भएर प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला र कल्याण गुरुङका समूह देखापरेका छन् । पौडेल समूहमा देखापरेको विभाजनका कारण स्वयं पौडेल र शशांकले सभापतिको मैदान छाडेको घोषणा गरिसक्नुभएको छ ।
पौडेल र शशांकले मैदान छाडे पनि प्रकाशमान र शेखर भने सभापतिको दौडमा हुनुहुन्छ । विगतमा पौडेल समूहमा रहनुभएका गुरुङले सभापतिको उम्मेदवारी दर्ता गराइसक्नुभएको छ भने प्रकाशमानले सुजाता कोइरालालाई उपसभापतिको उम्मेद्वार बनाउँदै प्रारम्भिक टिम घोषणा गर्नुभएको छ ।
उता, शेखरले मिनेन्द्र रिजाल र गगन थापालाई महामन्त्री उम्मेदवारको रुपमा भित्र्याएर नयाँ तरंग पैदा गर्नुभएको छ । विगतमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बन्नुभएका थापा १४औं महाधिवेशनमा शेखरको टिममा जोडिनुभएको छ ।
थापाले छाडेका सिटौला भने सभापति देउवाको टिमतर्फ जोडिन पुग्नुभएको छ । प्रदिप पौडेललाई महामन्त्री तथा शिव हुमागार्इं र उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाउनुपर्ने अडान राख्दै सिटौला देउवानिकट पुग्नुभएको छ ।