मुगु । हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय माेबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन् । जेनेरेटर र साेलारबाट माेबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक माेबाइल चार्ज गरेकाे सय रूपैयाँ लिने गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहकाे २-२ सय किलोवाट क्षमताका मेसिनमध्ये एउटा मेसिन २०६८ सालबाट चलेकाे छैन । त्याे मेशिनमा माकुराले जालो बनाएको छ भने अर्को मेसिनले पनि बिजुली उत्पादन नगर्दा एक सातादेखि सदरमुकाम गमगढी बजारसहितका बस्ती अन्धकार बनेकाे छ । यहाँका तीन हजार एक सय ग्राहक विद्युत सेवाबाट बञ्चित बनिरहेका छन् ।
एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा गमगढी बजारमा ब्यवसाय गर्दै आएका पसल, होटल, उद्योग कलकारखाना, सरकारी कार्यालय, संघ संस्था, शैक्षिक संस्थान र बैंकिङ कारोबार गर्दै आइरहेका संस्थानहरू सेवा प्रदान गर्न र लिन समस्या भएको स्थानीय गंगाप्रसाद न्यौपानेले बताउनुभयो । मोबाइल चार्ज गर्न पनि एक सय रुपैयाँ तिर्नुपरेकाे स्थानीय मणिचन्द्र भामले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकरी रोमबहादुर महतले विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगञ्ज प्रमुख र नेपाल विद्युत प्राधिकरणक निर्देशक कुलमान घिसिङसँग यस विषयमा कुरा भएकाे बताउनुभयो । विद्युत नियमित गर्न पहल पनि भइरहेकाे उहाँले बताउनुभयो । तर, यो मेसिन सञ्चालन गरी प्रयोगमा आए पनि मेसिन पुरानो भएको हुँदा पुन: चाडै बिग्रने सम्भावना भएकाले राष्ट्रिय प्रशारण लाइन पु-याउन सरोकारवाला सबैलाई अनुरोध र पहल कदमी गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
जेनेरेटरको बेरिङ्ग, एक्साइटेसन आरर्मिचर मेसिनबाट बिजुली उत्पादन हुन नसक्दा विद्युत् बन्द भएको हो । विद्युत् सञ्चालनका लागि नेपालगन्जबाट विद्युतका सामानसहित दक्ष प्राविधिक झिकाएको भए पनि मौसमका कारणले आउन सकेका छैनन् । एक दुई दिनभित्रै दक्ष प्राविधिकले मर्मतपश्चात विद्युत सेवा सञ्चालनमा ल्याउने जनाइएकाे छ । नयाँ मेसिन खरिद भइसके पनि मेसिन केरुङमा अठ्किएकाे गमगाढ वितरण केन्द्र आयोजना मुगुका सुचना अधिकारी प्रेमप्रसाद पाण्डेले बताउनुभयो ।