नेपाली कम्युनिष्ट आन्दोलनको ठुलो हिस्सा ओगट्न सफल भइरहेको पार्टी नेकपा(एमाले) दशौं महाधिवेशनमा प्रवेश गरिसकेको छ । महाधिवेशन प्रतिनिधि छनौट गर्ने र महाधिवेशन स्थलमा तयार गर्नुपर्ने आवश्यक व्यवस्थापनको पाटो पनि करिब सम्पन्न हुन लागेको छ । केहि आकांक्षी नेतृत्वहरुले अनौपचारीक रुपमा आफ्नो उम्मेदवारी समेत घोषणा गर्न थाल्नुभएको छ ।
राजनीतिक दलहरुले यतिबेलाको समयलाई महाधिवेशन वा सम्मेलनको समय बनाइरहेका छन् । देश नै राजनीतिक महाधिवेशनमय बनेको छ । तर देशको सबैभन्दा ठुलो दल र कम्युनिष्ट पार्टी एमालेको महाधिवेशनलाई समग्र नेपाली समाज र शक्ति केन्द्रहरुले विशेष चासोका साथ नियालिरहेका छन् । आगामी एमाले र नेपालको भविष्य एक ढंगले जोडिएर बहस भइरहेको छ ।
त्यसैले ठुलो उकाली–ओराली, उतार–चढाव, टुटफुट र एकताको बीचबाट हुन लागेको यो महाधिवेशन निरन्तरताको औपचारिक महाधिवेशन होइन् । थप बृहत एकता गर्दै पार्टीलाई नेपाली कम्युनिष्ट आन्दोलनको निर्विवाद मुलप्रवाह बनाउने कार्य गर्दै विशेष एतिहासिक रुपमा सम्पन्न गर्नुपर्छ ।
दशौं महाधिवेशन : एकताको महाधिवेशन किन ?
नेपालमा राजनीतिक दलहरुलाई व्यवस्थित बनाउनको लागि कानुनी रुपमा नै अधिवेशनहरुको समयावधि निर्धारण गरिएको छ । दलहरुको नियमित महाधिवेशन, अधिवेशन वा राष्ट्रिय सम्मेलन कानुनमा तोकिएको प्रबन्ध अनुरुप निर्धारित समयमा नै गर्नुपर्दछ । यस्तो कानुनी प्रवन्धले विशेष परिस्थितिको केहि समय बाहेक आफ्नै दलको नेतृत्वले समेत निरन्तरता पाउन सक्दैन् । राजनीतिक विचार, दल र नेतृत्व नै राज्यका संचालक हुने भएकाले उनिहरुलाई व्यवस्थित गर्न गरिएको सो प्रवन्धले अन्ततः राज्य र जनतालाई लाभ गर्दछ ।
राज्यले कानुनी मापनका आधारमा दललाई अद्यावधिक गर्न खोज्ने कुरा एउटा महत्वपुर्ण विषय भयो, तर दलले राजनीतिक, वैचारिक र सांगठनिक रुपले आफुलाई नियमित विकास गरिराख्न जरुरी हुन्छ । अन्यथा उसले निरन्तर विजय प्राप्त गर्न सक्दैन् । त्यसैले कानुनी दायराहरु र तोकिएको निर्धारित विधिहरु भन्दा धेरै विसद प्रकृयाहरुबाट राजनीतिक दल अगाडि बढिरहेका हुन्छन्, जुन कुरा तत्कालिन परिस्थितिहरुसँग सम्बन्धित भइरहेको हुन्छ ।
मंशिर १० देखि १२ सम्म चितवनमा हुने एमाले महाधिवेशन कसरी सम्पन्न हुन्छ भन्ने सवालले यतिबेला निकै महत्व पाएको छ । किनकी टुटफुट र एकताको आधारमा यो महाधिवेशन उभिएको छ । महाधिवेशनमा मुलतः ४ प्रकारका नेतृत्वहरुको सहभागिता रहेको छ । तर महाधिवेशनले सबै नेतृत्वलाई औपचारिक रुपमा विजयी गराउनुपर्नेछ ।
राजनीतिमा महत्वकांक्षी मान्छेहरु नै लाग्ने गर्छन् । विचार, पार्टी र देशको नेतृत्व गर्ने सबै राजनीतिकर्मीहरुको आकांक्षा हुन्छ । यो साधारण विषय हो । आकांक्षा बिहिन व्याक्तिले राजनीतिक नेतृत्व गर्न पनि सक्दैन् । तर आकांक्षालाई निरपेक्ष रुपमा पनि लिन सकिँदैन् । १० औं महाधिवेशन विगतको एमालेको महाधिवेशन होइन् । वर्तमानमा उभिएको एमाले नेतृत्व तथा कार्यकर्ता पङ्ती सहभागिताको हिसाबले पनि यो पार्टी विगतको एमाले होइन् ।
अध्यक्ष ओलीको नेतृत्वमा निर्माण भएको संगठनको अधिक ठुलो हिस्सा आजको एमालेमा छ । सँगै रामबहादुर थापा बादल नेतृत्वमा पुर्व माओवादी समुह, एमालेमा नै फरक संगठनात्मक अभ्यास गर्दै आएको समुह र अन्य राजनीतिक संगठनमा रहेका नेतृत्व वा समुह पनि ओलीको नेतृत्वमा पार्टी निर्माण गर्न समाहित हुने क्रम जारी छ । यहाँनेर एउटा महत्वपुर्ण सवाल छ, अन्य राजनीतिक संगठनमा आवद्ध भएर काम गरिरहेका नेता तथा कार्यकर्ता अध्यक्ष ओली वा बिगतको एमालेसँग प्रतिस्पर्धा गर्नको लागि समाहित भएका होइनन् । अध्यक्ष ओलीले अगाडि सारेको राष्ट्रवाद र समृद्धिको विचार वा कार्यक्रम सँग जोडिएका हुन् ।
त्यसैले महाधिवेशनले मुलतः राष्ट्रबाद र समृद्धिको कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि विचार र एकतावद्ध नेतृत्वको निर्माण गर्नुपर्दछ । पार्टीले वडा र स्थानीय तहगत कमिटिहरुमा अध्यक्ष कमरेड ओलीको विचारको आलोकमा सर्वसम्मत रुपमा कमिटिहरु निर्माण गर्ने कार्य सम्पन्न गरेको छ । मात्रै होईन प्रतिनिधि छनौट गर्ने कार्य पनि सर्वसम्मत गरेर समृद्धिको विचार मन्थन र संगठनात्मक रुपमा एकता महाधिवेशन सम्पन्न गर्न म्यान्डेट दिएको छ ।
महाधिवेशनमा पार्टी नेतृत्वमा दाबी गर्न सक्ने र निर्वाचित हुन पाउने लोकतान्त्रिक एवं नैसर्गिक अधिकार सहभागी सबै प्रतिनिधिहरुलाई बराबर रहन्छ । प्रतिनिधिहरुले अधिकारको प्रयोग पार्टी वा आन्दोलनलाई थप बलियो बनाउनका निमित्त साथै राष्ट्र र जनतालाई केन्द्रमा राखेर गर्नुपर्दछ । मतविभाजन गरेर मात्रै नेतृत्व निर्माण गर्नुपर्दछ भन्ने निरपेक्ष धारणा यतिबेला एमालेमा लागु गर्नुहुँदैन् । त्यसो गर्न खोजियो भने एकताका आधारहरु र नयाँ सन्दर्भमा पार्टीको विकास गर्ने प्रश्न कमजोर बन्न पुग्छ । अन्ततः त्यसले लोकतन्त्रको नाममा पार्टी आन्दोलनलाई नै कमजोर बनाउँछ । त्यसैले महाधिवेशन मार्फत अध्यक्ष ओलीको नेतृत्वमा सबै पक्ष र नेतृत्वको सहभागितामा सहमती वा जनवादी प्रकृयाको माध्यमबाट एकतावद्ध नेतृत्व चयन गर्नुपर्दछ । त्यसो गर्दा नै पार्टीमा वैचारिक तथा भावनात्मक एकता पैदा हुन जाने र आगामी चुनौतीहरुलाई चिर्दै राज्यसत्तामा पुग्ने अवस्था सिर्जना हुनपुग्छ ।
मुल प्रवाह निर्माणको प्रश्न
झण्डै दर्जनौ कम्युनिष्ट ब्राण्ड बोकेका पार्टीहरुको बीचमा थप एउटा पार्टी एमाले बनाउने कुरा त्यति धेरै महत्वपुर्ण विषय होइन् । धेरै कम्युनिष्ट नामका पार्टीहरुको अस्तित्वका कारण आम जनतामा भ्रम पैदा भैरहने र कम्युनिष्ट आन्दोलन प्रभावकारी बन्न नसकेको अवस्था छ । स्थापना कालदेखि नै टुट–फुट र एकताको चरणबाट गुज्रदै आउँदा पनि एमालेले आम जनतामा आफुलाई निरन्तर मुलप्रवाहको रुपमा उभ्याउन सफल भएको छ । तर मुलप्रवाहसँग सम्बन्धित प्रश्नको छलफल भने टुंगिइसकेको छैन् । त्यसैले १० औं महाधिवेशनले एउटा नयाँ संकल्प गर्नुपर्दछ कि एमाले पार्टीलाई हामीले निर्विवाद रुपमा नेपाली कम्युनिष्ट वा बामपन्थी आन्दोलनको मुलप्रवाहको रुपमा स्थापित गर्नेछौं ।
तर के हामीले घोषणा गर्दाकै आधारमा वा प्रतिवद्धता जनाउँदा कै आधारमा पार्टीलाई निर्विवाद मुलप्रवाहको रुपमा निर्माण गर्न सक्छौं ? अवश्य सक्दैनौं । यो हाम्रा लागी निकै चुनौतीपुर्ण प्रश्न हो । तर १० औं महाधिवेशनमा उभिएर हामीले यसको यात्रा तय गर्न सक्छौं ।
रुढीबाद, उग्रबाम र दक्षिणपन्थी रुझान राख्ने तर कम्युनिष्ट ब्राण्ड बोक्ने कम्युनिष्ट पार्टीहरुले अबको सन्दर्भमा राजनैतिक नेतृत्व गर्न सक्दैनन् । त्यसको लागि गतिशिल विचार, कार्यक्रम, नेतृत्व र संगठनको आवश्यकता छ, जुन प्रगतिशिल तथा बैज्ञानिक विधिमा सञ्चालन हुनुपर्दछ । माक्र्सवादलाई नेपाली सापेक्षतामा र वर्तमान सन्दर्भमा उचित ढंगले प्रयोग गर्ने कुरा मात्रै सुहाँउदो र दिगो हुनसक्छ ।
अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रबादमा आधारित समृद्ध नेपाल सुखी नेपालीको सवाललाई यतिवेला दह्रोसँग पक्डिनुभएको छ । ३ वर्षको सरकार सञ्चालन अवधिमा धेरै पक्षको असहयोगका बाबजुद पनि उहाँले वास्तविक राष्ट्रवाद र समृद्धिको मुल्य मान्यतालाई छाड्नुभएन् । वर्तमान सन्दर्भमा हामी २०७२ को संविधान मार्फत संवैधानिक मुल्य मान्यता र संरचना अनुसार आधुनिक नेपालमा प्रवेश गरेका छौं । स्वयं संविधानले समाजवाद उन्मुख यात्रा तय गरेको छ । संविधानमा अवश्य पनि केहि न केहि कमजोरी रहेका छन् । ति कमजोरीलाई हामीले आम जनताको सहभागितामा उचित विधि र पद्दतीको माध्यमबाट हल गर्दै जान सक्छौं । तर समृद्ध नेपाल सुखी नेपालीको कार्यक्रमलाई लागु गर्नको लागि वर्तमान संविधान अवरोधक छैन्, बरु यसले मार्ग प्रशस्त गरेको छ ।
१० औं महाधिवेशनमा हामीले मुलुकमा खेतीपातीको रुपमा कम्युनिष्ट पसल थाप्नेहरुलाई एउटै फ्रेममा कसरी ल्याउन सकिन्छ ? कतै हामी जनताका आधारभुत सवालहरुलाई निरन्तर सम्बोधन गर्ने विषयमा त चुकिरहेका छैनौं ? यी विषयहरुमा छलफल गरौं ।
दुई ठुला कम्युनिष्ट पार्टीहरुलाई मिलाएर विचार र संगठन दुबै हिसाबले विशाल नेकपा निर्माणको प्रयत्न अध्यक्ष ओलीले गर्नुभएकै हो । त्यसको दुखद विघटन भइसकेको छ । तर फेरी पनि संगठनात्मक रुपमा अन्य आन्दोलनबाट विकास भएका राजनीतिक नेता तथा कार्यकर्ताहरुलाई पनि उचित अवसर र सम्मानपुर्वक स्थान दिने विषयमा अध्यक्ष ओलीले तुलनात्मक रुपमा ठुलो छाती बनाउनु भएको छ ।
स्थायी राजनीति बिना मुलुकमा समृद्धि सम्भव छैन् । त्यसैले धेरैले कम्युनिष्ट नामको पसल खोलेर राजनीति गरिरहेको कारणलाई पनि हामीले सम्बोधन गर्ने आँट गर्नुपर्दछ । जसले गर्दा जनतामा भ्रमको खेति गरिहने साना पसलहरुको अन्त्य हुने र देशले राजनीतिक रुपमा स्थिरता प्राप्त गर्ने वातावरण निर्माण हुन सक्छ । अध्यक्ष ओलीले अगाडि सार्नुभएको राष्ट्र समृद्धिको प्रश्नलाई कार्यान्वयन गर्नको लागि सम्पुर्ण अर्थराजनीतिक कार्यदिशाको निर्माण गर्न महाधिवेशनलाई उचित स्थान र बिन्दुको रुपमा प्रयोग गरौं । जसले गर्दा नेकपा (एमाले) नेपाली कम्युनिष्ट आन्दोलनको अनवरत मुलप्रवाह बन्न सक्नेछ ।