Margadarsan


  • एमाले महाधिवेशन उद्घाटन सत्रः प्रत्येक र्‍यालीमा एक एम्बुलेन्स, २५० स्वास्थ्यकर्मी औषधिसहित परिचालन हुने

    मार्गदर्शन ८ मंसिर २०७८, बुधबार

    चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनको दिन सहभागी हुने प्रत्येक र्‍यालीमा एउटा एम्बुलेन्स खटाइने भएको छ ।

    महाधिवेशन उद्घाटन सत्रअगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने र्‍यालीसँग एम्बुलेन्स पनि रहने गरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

    नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोकसहितबाट निस्किने र्‍यालीसँगै एम्बुलेन्स पनि रहने उहाँको भनाइ छ ।

    एमालेको महाधिवेशनका लागि प्रयोग हुने एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिम लिएका स्वयंसेवकहरु परिचालन हुने स्वास्थ्य व्यवस्थापन समितिले बताएको छ ।

    प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले महाधिवेशन उद्घाटन हुने स्थानमा भीआईपी र भीभीआईपीलाई लक्षित गर्दै दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिने बताउनुभयो ।

    उद्घाटन समारोह हुने मञ्चको आडैमा ‘क’ वर्गको एउटा र ‘ख’ वर्गको एउटा गरी दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलको भनाइ छ । उद्घाटन सत्र सकिएपछि भने बन्दसत्र हुने स्थान सौराहामा केन्द्रित गरेर एम्बुलेन्सको व्यवस्थापन गरिनेछ ।

    बन्दसत्र अवधिभर सौराहामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली बस्ने ठाउँमा क वर्गको एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलले जानकारी दिनुभयो । थप चार वटा एम्बुलेन्स बन्दसत्र हुने स्थानको नजिकमा रहने उहाँले बताउनुभयो ।

    बन्दसत्रमा बिरामी भएका प्रतिनिधिलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । महाधिवेशनमा सबै रोगका विज्ञ चिकित्सकसहित २५० जना स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन हुने अधिकारीले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया