चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । महाधिवेशनबाट १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी र अनुशासन तथा लेखा आयोगका ३० जना गरी कुल २५५ जना निर्वाचित हुनेछन् । मतदानमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् ।
केन्द्रीय कमिटी सदस्यमा चितवनबाट भने अहिलेसम्म ९ जनाले आकांक्षा देखाएका छन् । अरू अझै खुलेका छैनन् । दुई पटक सांसद भइसकेका कृष्णभक्त पोखरेलदेखि एमाले चितवन जिल्ला इन्चार्ज काशीनाथ अधिकारीसम्मले केन्द्रीय सदस्यमा आकांक्षा देखाउनुभएको छ ।
चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले आइतबार नेकपा एमालेको केन्द्रीय सदस्यमा चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ । दुई चोटि सांसद बनिसकेका पोखरेलले एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा चुनाव लड्ने पक्का भएको बताउनुभयो ।
पोखरेल १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आवास तथा खानपानको व्यवस्थापनमा खटिनुभएको छ । ‘यो पटक केन्द्रीय सदस्यमा लड्ने हो नि । दुई चोटि सांसद, कानुन समितिको सभापति भइसकेको मान्छे । यो लेभलको मान्छे, अब केन्द्रीय सदस्यमा लड्ने हो’, उहाँले भन्नुभयो । निर्वाचन क्षेत्र नम्बर २ बाट उहाँ २०७० सालमा संविधानसभाको सदस्य र २०७४ मा प्रतिनिधिसभाको सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ ।
एमाले चितवनकी अध्यक्ष पार्वती रावल, पूर्व अध्यक्ष एवं एमाले प्रदेश कमिटी सदस्य जेएन थपलिया, दावा लामा र विजय सुवेदी पनि केन्द्रीय सदस्यमा उठ्ने हुनुभएको छ । त्यसैगरी, हालका एमाले केन्द्रीय सदस्य देवी ज्ञवाली, कपिल पोखरेल र सीता पौडेल पुनः केन्द्रीय सदस्यमा उठ्ने हुनुभएको छ । एमाले चितवन इन्चार्ज काशीनाथ अधिकारीले पनि केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारी गर्नुभएको छ ।
केन्द्रीय सदस्यका आकांक्षी महाधिवेशनको लागि जिल्लामा जनपरिचालनदेखि आर्थिक प्रबन्धका काममा जिम्मेवारी लिएका काम गरिरहेका छन् । कृष्णभक्त पोखरेल हाल प्रतिनिधि सभाको कानुन, न्याय मानव अधिकार समितिका सभापतिसमेत रहनुभएको छ ।
२०७३ कात्तिकमा भएको नेकपा एमाले चितवनको चुनावबाट पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको थियो । तत्कालीन समयमा एमालेको माधवकुमार नेपाल पक्षका पोखरेलले जिल्ला अध्यक्षमा केपी ओली पक्षका जेएन थपलियालाई पराजित गर्नुभएको थियो ।
त्यसपछि नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा बनेपछि उहाँ जिल्ला सचिव बन्नुभएको छ । माओवादी र एमालेबीच फाटो आएर पार्टी विभाजनपछि पोखरेल केही समय माधव नेपाल पक्षमै लाग्नुभयो ।
माधव नेपाल पक्षका नेताहरू नेकपा एमालेमै रहने गरी गरिएको १० बुँदे सहमतिमा पार्टी कमिटी २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भनिएको थियो । तर सो सहमति कार्यान्वयनको सन्दर्भमा चितवनमा विवाद देखियो ।
२ जेठ २०७५ को अवस्थामा फर्किदा चितवनको एमाले अध्यक्ष कृष्णभक्त पोखरेल हुनुपर्ने थियो । तर ५ पुस २०७७ मा अध्यक्ष केपी ओलीद्वारा चितवन जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी पार्वती रावलले अध्यक्ष पद छाड्न मान्नुभएन । अन्ततः पोखरेल आफैं सहमतिका लागि भन्दै पछि हट्नुभएको छ ।
– कुलप्रसाद काफ्ले



















