मकवानपुर । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरको चारवटा प्रदेश सभा क्षेत्रमा शुक्रबार अधिवेशन हुँदैछ ।
नेपाली कांग्रेस मकवानपुरले दिएको जानकारीअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (क) र (ख) तथा प्रतिनिधिसभा २ को प्रदेश सभा (क) र (ख) मा अधिवेशन हुन लागेको हो ।
मकवानपुरका सबै क्षेत्रमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो ।
प्रतिनिधिसभा १ को प्रदेश सभा (क) को निर्वाचन हटिया चिसापानीमा र प्रदेश सभा (ख) को हेटौंडाको जयगणेश पार्टी प्यालेशमा अधिवेशन हुँदैछ ।
प्रतिनिधिसभा २ को प्रदेश सभा (क) को अधिवेशन थाहा नगरपालिकामा रहेको जेसीज भवन र प्रदेश सभा (ख) को अधिवेशन बसामाडी जेसीज भवनमा हुँदैछ ।
अधिवेशनबाट चारवटै निर्वाचन क्षेत्रबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईजना छानिने छन् । यस्तै, खुला, महिला, समावेशी, दलित आदिवासीसमेतबाट जम्मा १८ जना सदस्य चयन हुने जनाइएको छ । आज साँझ ४ बजेसम्ममा अधिवेशन सम्पन्न भइसक्ने कांग्रेस मकवानपुरले जनाएको छ ।
























