चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवनको सौराहामा महाधिवेशन गर्ने भएपछि व्यवसायीहरुले महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीले छुटको घोषणा गरेका हुन् ।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन समारोह र सौराहामा बन्दसत्र गर्ने टुंगो एमालेले लगाइसकेको छ ।
यससँगै सौराहामा चहलपहल थप बढेको छ । एमाले नेताहरु दिनहुँजसो सौराहा आउने र जानकारी लिने गर्न थालेका छन् भने व्यवसायीहरु पनि आ–आफ्नो तयारीमा व्यस्त छन् ।
एमाले महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि होटेल व्यवसायीहरुले मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने गोष्ठी, विवाह, सेमिनारलगायतका अन्य सबै कार्यक्रमहरु स्थगित गरेका छन् ।
एमालेले बुक गरेका होटलमा ५० प्रतिशतसम्म छुट दिइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । बिहानको नास्ता र बेलुकाको खानाको दर र मेनु सबै होटलमा एकै प्रकारको गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष भट्टराईले बताउनुभयो ।
होटलको स्तर अनुसार कोठालाई ए, बी र सी गरेर वर्गीकरण गरिएको छ । एमाले प्रतिनिधिहरुलाई बेलुकाको खाना र बिहानको नास्ता बसेकै होटलमा खुवाउने तयारी गरिएको छ । बिहानको खाना भने बन्दसत्र हुने होटलमा खुवाइने प्रवन्ध मिलाइएको छ ।
सवारी साधन पार्किङका लागि दुई बिघा क्षेत्रफलमा व्यवस्थापन गरिँदैछ । होटलमा बास बस्नेलाई सवारीसाधन त्यहीँ राख्न र हिँडेर बन्दसत्र स्थलसम्म जानुपर्ने व्यवस्थापन गरिएको होटल सञ्चालक माधव दवाडीले बताउनुभयो ।
एमाले महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने अन्य विभिन्न कार्यक्रम, गोष्ठी, विवाह, सेमिनारहरु स्थगित गरिएको क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
हाम्रो सबै जनशक्ति नै यहीँ लाग्छ, अरु काम गर्न भ्याइन्न, अध्यक्ष भट्टराईले मंसिर ९ देखि १३ गतेसम्म कुनै अन्य कार्यक्रम नलिने भन्नेछ ।’
कोभिडपछिको सौराहा खुल्ला भएपछि ‘घुमौ सौराहा’ अभियान चलाएर विभिन्न ठाउँमा आफूहरु जानुपर्नेमा देशभरका प्रतिनिधिहरु आउँदा आफूहरुलाई खुसी लागेको उहाँको भनाइ छ ।
पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकमा भर परेको सौराहा पर्यटकहरुका लागि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन प्रवेश गर्ने मुख्य नाका पनि हो ।
यहाँबाट मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा हात्ती सफारी चल्ने गरेको छ भने निकुञ्जमा जीप सफारी हुन्छ । एमालेको राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि तथा समर्थकहरु जंगली सफारीमा जान यहाँबाट सजिलो हुन्छ । यहाँ ४५ भन्दा बढी निजी हात्ती छन् ।
निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ जीप दैनिक जान्छन् । निकुञ्जले प्रतिजीप ५ हजार र प्रत्येक नेपाली पर्यटकसँग १५० रुपैयाँ शुल्क लिने गरेको छ ।
कोरोना भाइरसको महामारीका बीच गत आर्थिक बर्ष ९२ हजार २ सय ९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । तीमध्ये ८९ हजार ६ सय १ नेपाली थिए । निकुञ्ज सफारीमा जाने पर्यटकले वन क्षेत्रसँगै विभिन्न वन्यजन्तु, तालतलैया, चराचुरुङ्गी अवलोकन गर्न पाउँछन् । मुख्य रुपमा दुर्लभ एकसिंगे गैंडा, पाटे बाघ, भालु, घडियाल गोही अवलोकनका लागि पर्यटकहरु निकुञ्ज जाने गर्दछन् ।