चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष नेताहरूले पार्टीको १०औँ महाधिवेशन स्थलको अवलोकन गर्नुभएको छ । एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाललगायतका नेताले महाधिवेशनको उद्घाटन र बन्द सत्र हुने स्थानको अवलोकन गर्नुभएको हो ।
नेताहरू उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारको निरीक्षण गरेर बन्द सत्र हुने स्थान सौराहा पुग्नुभएको छ । एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा हुँदै छ । बन्द सत्र सौराहाको बाघमारामा हुने तय भएको छ ।
महाधिवेशनमा देशभरबाट दुई हजार प्रतिनिधि सहभागी हुनेछन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताउनुभयो । उहाँले स्थलगत निरीक्षणपछि छलफल गरिने र आवश्यक तयारीका काम अगाडि बढाउने जानकारी दिनुभयो ।
























