भैरहवा । रुपन्देहीको मर्चवारमा स्थानीय सरकार र सुरक्षाकर्मीकै रेखदेखमा लक्ष्मी पूजाको मूर्ति विसर्जन भएको छ । मूर्ति विसर्जनको क्रममा पानीमा डुबी तीन जनाको ज्यान गएपछि यस पटक सावधानी अपनाई लक्ष्मी पूजाको मूर्ति विसर्जन गरिएको हो ।
तराईमा लक्ष्मी पूजाको अवसरमा अस्थायी मूर्ति नै स्थापना गरी पूजा गर्ने गरिन्छ । शनिबार तिहार सकिएसँगै ती अस्थायी मूर्ति आइतबारसम्म विसर्जन भएका छन् । रुपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिका–५ दानव र तिनाउ नदीको संगमस्थल दुईमोहानमा जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्यक्ष रोहबरमा सावधानी अपनाएर मूर्ति विसर्जन भएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले जानकारी दिनुभयो ।
घाटमा शनिबार र आइतबार गरी ५५ भन्दाबढी मूर्ति विसर्जन गरिएका छन् । अहिले गाउँपालिका र इलाका प्रहरी कार्यालय मझगावाँको सहयोगमा नदी किनारमा निश्चित दूरी तोकेर मूर्ति विसर्जन गरिएको अध्यक्ष यादवले बताउनुभयो ।
मूर्ति विसर्जनको क्रममा विगत तीन वर्षदेखि तीन जनाको ज्यान गएपछि इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा १८ जनाको टोली र सशस्त्र प्रहरी बल मझगाँवाका प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको नेतृत्वमा १० जनाको टोलीसहित स्थानीय सरकारका प्रतिनिधाहरूको निगरानीमा नदी बाहिरैबाट मूर्ति विसर्जन गरिएको छ ।