भैरहवा । भैरहवा साइकल सिटीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अर्घाखाँची साइकल यात्रा गरेको छ । साइकल सिटी भैरहवाका राइडरहरूले तिहारको बिदालाई सदुपयोग गर्दै आइतबार बिहान अर्घाखाँचीका लागि यात्रा तय गरेका हुन् ।
पर्यटनलाई थप ऊर्जा थप्न ‘अर्घाखाँची साइकल यात्रा–२०७८’ गरिएको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले बताउनुभयो ।
‘हाम्रो यात्रा तीन दिनसम्म रहनेछ, आइतबार बिहान ५.३० बजे बुध्दचोकबाट यात्रा सुरु भएको छ । आइतबार कपिलवस्तु गोरुसिङ्गे हुँदै नरपानीमा बसाइ रहनेछ ।
सोमबार बिहान सन्धिखर्क बजार अवलोकन भ्रमण गर्ने, मंगलबार नरपानीदेखि ढोरपाटन सडक, सालझण्डी हुँदै भैरहवा फर्किने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
विपिन रेग्मीको संयोजकत्वमा १४ सदस्यीय साइकिलिस्टको टोली उक्त यात्रामा सहभागी छन् । कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित साइकल यात्रा गरेको अध्यक्ष सारु मगरले बताउनुभयो ।