दाङ । जीतबहादुर बादी तिहार भित्रिसक्दा पनि फुर्सदिलो हुनुहुन्छ । तुलसीपुर–४ का उहाँलाई यस वर्ष पनि देउसीभैलोका लागि मादलको माग आउन सकेको छैन । मादलको माग कम आएपछि उहाँ फुर्सदिलो बन्नुभएको हो ।
कोरोना महामारीपछि जनजीवन सामान्य बन्दै गए पनि देउसीभैलीका लागि मादल बनाउने, मादल किन्नेहरूको संख्या बढ्न नसकेको उहाँको गुनासाे छ । ‘गत वर्ष कोरोनाले मादलको व्यापार भएन्, यस वर्ष पनि अहिलेसम्म मादलको व्यापार हुन सकेन्’, उहाँले भन्नुभयो, ‘मादलको माग कोरोनापछि ह्वात्तै घटेको छ ।’
मादलको माग घटेपछि दैनिकी कसरी चलाउने हो, चिन्ताले सताउन थालेको उहाँले बताउनुभयो । ‘विषेशगरी धेरै आम्दानी हुने समय भनेको त तिहार नै हो, यो समयमा पनि मादलको माग कम भएको छ’, उहाँले भन्नुभयो, ‘मादलको व्यापार नहुँदा तिहार कसरी धकेल्ने हो भन्ने चिन्ताले सताएको छ ।’
दीपावली पर्वमा मादलबाट राम्रै आम्दानी हुने गरे पनि यस वर्ष त्यस्तो अवस्था नदेखिएको सोही ठाउँकै दुर्गाबहादुर नेपालीले बताउनुभयो । यस वर्षको तिहारमा अहिलेसम्म उहाँलाई मादलको माग आउन सकेको छैन । मादल नेपाली गीतसंगीतका लागि मात्र नभएर तिहारमा खेलिने देउसीभैलोका लागि महत्वपूर्ण मानिने बाजा हो । तर, पछिल्लो समयमा मादलको माग कम हुँदा बादी समुदायको पेसा नै संकटमा परेको छ ।
गत वर्ष कोरोना महामारीले देउसीभैलो नै नहुने भएपछि मादलको माग घटेको थियो, पछिल्लो समय भने बजारमा भित्रिएको प्रविधिले पनि मादलको मागमा कमि आएको उनीहरूको गुनासो छ । तुलसीपुर उपमहानगरपालिका-४ बायखोलका गेहेन्द्र बादीलाई कुनै समय तिहारको समयमा मादल बनाउन भ्याइनभ्याइ हुने गरेको थियो । तिहारमा खेलिने देउसीभैलोका लागि मादलको माग अत्यधिक हुँदा उहाँले वर्ष दिनको आम्दानी तिहारमा मात्र गर्नुहुन्थ्यो तर करिब तीन वर्षदेखि उहाँले मादलबाट मनग्य आम्दानी गर्न सक्नुभएको छैन ।
‘मादलबाट आम्दानी पनि राम्रै भएको थियो’, उहाँले भन्नुभयो, ‘कोरोना महामारी सुरु भएयता मादलको व्यापार हुन सकेको छैन । यस वर्ष पनि गत वर्षकै प्रभावका कारण मादलको व्यापार घटेको छ ।’
तिहारको समयमा ४०/५० वटा मादलको व्यापार गर्ने उहाँले पछिल्लो समय तिहारको समयमा ५/७ वटामात्र पनि मुस्किलले बिक्रि गर्नुभएको छ । ‘मादलको खोजी पनि कम हुन थालेको छ । मादल नै कम बजाएपछि व्यापार धेरै कम हुन थालेको छ’, उहाँले भन्नुभयो, ‘अहिले कोरोना महामारीपछि त हामीहरू धेरै समस्यामा परेका छौँ ।’
मादल बनाएरै आफू र आफ्नो परिवारको दैनिकी चलाउन सहज बनेको अवस्थामा पछिल्लो समय मादलको माग कम हुँदा समस्या हुन थालेको उहाँले बताउनुभयो । ‘मादलको व्यापार नै छैन, मादल बिक्री हुने समय भनेकै त तिहारको समय हो । तर पछिल्लो समय कोरोना महामारीका कारण मादलको माग पनि ह्वात्तै घटेको छ’, उहाँले भन्नुभयो, ‘ पछिल्ला वर्षहरुमा तिहारमा मादलको माग घट्न थालेको छ । अब त मादल बनाएर पनि दैनिकी चल्दैन ।’
तिहारको समयमा विगतका वर्षहरूमा दैनिक रूपमा चार हजारसम्म आम्दानी गर्ने गरे पनि यस वर्ष एक हजारको समेत व्यापार हुन नसकेको उहाँले बताउनुभयो । ‘मादल प्रविधिको कारणले पनि पछिल्लो समय हराउँदै गएको छ । गत वर्षका दिनमा कोरोना महामारीले तिहारमा भैली नहुने भएपछि मादलको माग पनि आउन सकेको थिएन, यस वर्ष पनि त्यस्तै भएको छ’, उहाँले भन्नुभयो, ‘अब त आशा पनि मरिसक्यो, आम्दानी नै नभएपछि तिहार पनि नरमालाे हुने भयो ।’
मादलको बजार राम्रो नभएपछि बादी समुदायको बाबुबाजेले गर्दै आएको मादल बनाउने पेसा संकटमा पर्न थालेको छ । अब यस्तै अवस्था भएमा भावी पुस्तालाई मादल बनाउनेबारे ज्ञानको अभाव हुने निश्चित देखिएको ती बादी समुदायले कसरी बनाउने भन्ने पनि समस्या उब्जन थालेको छ । बजारमा भित्रिएको प्रविधि र कोरोनाको प्रभाव अझै भएकाले बादी समयुदायको मादल बनाउने पेसा नै संकटमा परेको हो ।