घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फुलेको छ । कोही फुल टिपीरहेका छन्, कोही माला गास्दैछन् । केहीले बजारमा फुल मालाको स्टल राखेर विक्र गरिरहेका छन् त केहीले अर्डर अनुसार ग्राहकको घरदैलोमा फुलमाला पु-याउन खटिएका छन् । घरमै आएका ग्राहलाई फुलका थुंगा विक्री गरिरहेको देखिन्छ ।
भिमाद नगरपालिका–८ भागरका कृष्णबहादुर विश्वकर्माको ४ जनाको परिवारलाई बुधबारदेखि सयपत्री फूलले व्यस्तता बढाई दिएको छ । फुर्सदमा तिहार मनाउने उहाँको परिवारसँगै छरछिमेकलाई पनि सयपत्रीले व्यस्त बनाएको हो । ‘परिवारबाहेक छरछिमेक र आफन्त १० जना बढीको पनि सहयोग लिईरहेका छौँ’, उहाँले भन्नुभयो ।
होलसेल व्यापारीलाई नदिएर आफैँले ग्राहकको हात हातमा पु-याउँदा झनै व्यस्त बनाएको उहाँको भनाइ छ । ‘व्यापारीलाई दिदाँ हामीलाई कम मुल्य पर्ने ग्राहकलाई पनि महँगो मूल्य पर्ने भएपछि बरु आफैँले केही सस्तोमा बेच्दा दुवैलाई फाईदा हुन्छ भनेर खेरैनीटार र दुलेगौँडा बजारमा स्टल राखेर बेचिरहेका छौँ’, उहाँले सुनाउनुभयो । गत बर्षसम्म मकैखेती गर्ने बारीमा यसपालि कृष्णबहादुरको परिवारले आठ सय सयपत्रीको बेर्ना लगाएको थियो । एउटै बोटमा एक सय थुुंगासम्म फुलेको छ । जसले अर्को बर्ष फुल खेती विस्तार गर्नलाई उत्साह थपेको उहाँ बताउनुहुन्छ ।
भोलि शनिबार तिहारको मुख्य दिन भाइटिका । तिहार दिदीवहिनी र दाजुभाइबिचको सामिप्यतासँगै फूल र झिलिमिली बत्तीको चाड हो । सांगीतिक चाडको रुपमा पनि तिहारलाई लिइन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई सयपत्री र मखमलीको माला गलामा पहिराईदिने भएकाले फूलको विशेष महत्व छ ।
व्यावसायिक तरिकाले फूल खेती गरेका किसानको सिजन तिहार भएकाले व्यस्तता तिहार सुरु भएसँगै बढेको हो । फूल टिपेर माला गाँस्ने र बजारमा पु-याउने हतारोमा देखिन्छन् किसान । तिहार अगावै एकातिर धान थन्क्याउने चटारो छ, अर्कोतिर फूलको माला बजार पु-याएर विक्री गर्ने हतारोमा छन् किसान । बजारका हरेक चोकमा तिहारलाई आवश्यक भाई मसलासँगै फूल र माला बेच्नेहरु भेटिन्छन् ।
शुक्लागण्डकी नगरपालिका–१२ सुन्दरेमा तीन जना युवा मिलेर सञ्चालन गरेको फिरफिरे अर्गानिक्समा ढकमक्क फुलेका मखमली र सयपत्री टिपेर अर्डर अनुसार बजार पु-याउन सञ्चालकलाई भ्याइनभ्याई छ । यहाँ सात रोपनीमा सयपत्री र तीन रोपनी क्षेत्रफमा मखमली फुल लगाईएको छ । फुल टिप्ने र माला गाँस्नेका काममा स्थानीय महिलाले रोजगारी पाएका छन् । ‘फुल टिप्ने, माला गाँस्ने र अर्डर अनुसार बजार पु-याउन दैनिक १० जनालाई खटाईरहेका छौँ’, सञ्चालक मदन पौडेल भन्नुहुन्छ, ‘फुलको मुख्य सिजन तिहार हो । फुलले तिहार लागेसँगै व्यस्त बनाएको छ ।’ तिहारको दिन विहानदेखी फुलको सिजन सकिने र त्यसपछि फुर्सदिलो हुने पौडेलले बताउनुभयो ।
भिमाद नगरपालिका– ८ अरौदीका गोविन्द अधिकारी पनि फुलले व्यस्त बनाएको बताउँछन् । उनले २०६५ सालदेखी बाझिएको साढे ४ रोपनी जग्गामा सयपत्री फुल फुलाएका छन् । ‘फुल टिपेर गनेर अर्डर अनुसार पु-याईरहेको छु’, उहाँले सुनाउनुभयो । उहाँले होलसेलमा फुलको थुंगा विक्री गरेकोले माला गाँस्ने झन्झटबाट मुक्त भएको बताउनुभयो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिकामा व्यवसायिक फूल खेती गर्ने बढेका छन् । फूल खेतीमा युवाको आकर्षण बढेको पाईन्छ । जिल्लाका केही शहकारीले पनि तिहार लक्षित फूल खेती गरेका छन् ।
तीन बर्षदेखी तनहुँमा व्यवसायीक फूल खेती गर्नेहरु बढेका छन् । गत बर्ष कोरोनाका कारण कम फुलखेती गरिएको थियो । यसपाली कोरोना संक्रमण कायमै रहेपनि जनजिवन सामान्य लयमा फर्केकाले फूल खेती गर्नेहरु यसपाली बढेका हुन् ।