काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसी टिभी क्यामेरा थपिने भएको छ । समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसी टिभी क्यामेराको संख्या बढ्ने भएको हो । अहिले उपत्यकामा सार्वजनिक खपतका सीसी टिभी म्यानुअल सिस्टमका मात्रै छन् । अब भिडियो म्यानेजमेन्ट सिस्टमअन्तर्गत अटोमेटिक डिडेक्टिभ सिस्टममा जाने गरी जडान हुँदैछन् ।
यसका लागि अप्टिकल फाइबर बिछ्याउने काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी नेपाल म्याक्स मौलिक तरंग कम्पनीले जनाएको छ । म्याक्सले तीनवटा कम्पनीको जोइन्ट भेन्चरका रुपमा काम गरिरहेको छ । अप्टिकल फाइबर तार विछ्याउने काम सकिएपछि कम्पनीलेमात्रै उपत्यकाभरी मुख्य मुख्य रुटमा १६१ वटा क्यामेरा जडान गर्नेछ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कम्पनीलाई साढे ६ करोड लगानीमा निर्माण गर्नेगरी ठेक्का दिएको छ । कम्पनीले एसियाकै दोस्रो उच्च गुणस्तर सीसीटिभीमा हुने दाबी गरेको छ । कम्पनीलाई ठेक्का असारसम्म भए पनि कोभिड महामारीका कारण निर्माण सामग्री आयात नभएपछि समय थपिएको छ । कम्पनीले चीन, हङकङ, सिंगापुरसहित चार देशबाट सामान आयात गरेको छ ।
४३ किलोमिटर फाइबर तार बिछ्याउने काम सकिएको कम्पनीले जनाएको छ । ‘८० प्रतिशत काम सकिएको छ । अब ढिलोमा ४० दिनमा जडान गरिसक्ने टार्गेट छ,’ कम्पनीले भनेको छ, ‘सामानको अभाव छैन । कामहरू धमाधम भइरहेको छ । भक्तपुर, महाराजगन्ज, बल्खु रूटबाट तार बिछ्याउने काम भइरहेको छ । हामीले सय केभीको सीसी टिभी जडान गर्छौं ।’
उपत्यकामा कति छ सीसी टिभी ?
महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक प्रयोजनका लागि २६४५ वटा सरकारी सीसीटिभी जडान गरिएको छ । पाँच वर्षको एक अध्ययनअनुसार उपत्यकामा २३ हजार सीसी टिभी आवश्यक रहेको औँल्याएको बताउनुहुन्छ मेट्रोका डीआईजी उत्तमराज सुवेदी । तर बजेको अभाव, संगठनको प्राथमिकता, प्रतिकूल वातावरणका कारण आवश्यकताअनुसारको सीसी टिभी जडान हुन सकेन । अहिले भने प्रहरी प्रधान कार्यालयले नै उपत्यकामा सीसीटिभी जडानलाई प्राथमिकतामा राखेको बताउनुहुन्छ डीआईजी सुवेदी । उहाँ प्रविधिको प्रयोगले, कम्युटर सिस्टममा जाँदा अनुसन्धानको दायरा बढ्ने धारणा राख्नुहुन्छ । ‘समय बचत हुने भयो । कुनै पनि घटना मिस नहुने भयो । अनुसन्धान प्रभावकारी हुने भयो,’ उहाँ भन्नुुहुन्छ ।
झण्डै चार सय क्यामेरा प्रक्रियामा
महानगरीय प्रहरी कार्यालय सिसीटिभी शाखाका एसपी कृष्णबहादुर धिताल मेट्रोले आफै पनि सीसीटिभी जडान प्रक्रिया अघि बढाएको बताउनुहुन्छ । भिडियो म्यानेजमेन्ट सिस्टमका लागि अप्टिकल फाइबर विछ्याउनुपर्ने भन्दै धितालले यो काम सकिएपछि जडानमा समय नलाग्ने बताउनुभयो ।
उहाँका अनुसार मेट्रोले भीआइपी एरिया लक्षित गरी काठमाडौंमा १४५, ललितपुरमा १३५ र भक्तपुरमा १०० को हाराहारीमा सीसीटिभी जडान प्रक्रियामा लगेको छ । यसका लागि ९ करोड हाराहारीमा बजेट छुट्याइएको छ । उपत्यकामा भदौमा मात्रै ५८ क्यामेरा जडान भएको उहाँले जानकारी दिनुभयो । ‘अब जडान हुने सीसीटिभी क्यामेराले अटोमेटिक सिस्टमबाट डिड्क्टिभ गर्छ । शंकास्पद गतिविधि भएमा अटोमेटिक नोटिस गर्छ,’ एसपी धितालले भन्नुभयो, ‘भिडियो फिल्टर गर्ने, भिडियो सिनोफ्सिस, लामो भिडियोलाई समराइज गर्न सहज हुन्छ ।’
यसले गर्दा सडकमा लेन मिच्ने, ट्राफिक लाइट मिच्नेलाई अन द स्पट नोटिस गरेर कारवाही गर्न सकिने उहाँले बताउनुभयो । एक/डेढ महिनाभित्र माथि उल्लेखित संख्यामा सीसी टिभी जडान भइसक्ने सीसी टिभी शाखा प्रमुख एसपी धिताल बताउनुहुन्छ ।
























