भक्तपुर । तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याइनभ्याई छ । उहाँ हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगिहाल्नुहुन्छ । ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न मेला भ्याउनुहुन्छ ।
उहाँका अनुसार तिहारभित्रै सबै फूल नटिपे पछि खेर जान्छ । विहानभर लगाएर टिपेको फूलको उहाँको श्रीमान्ले दिउँसो माला उन्नुहुन्छ । उहाँले घरसँगैको करिब एक रोपनी बारीमा फूल रोपेको सुनाउनुभयो । यस वर्ष करिब दुई हजार माला तयार हुने उहाँको भनाइ छ । ‘पहिलेको वर्षको तुलनामा यस वर्ष फूल कम रोपेका छौँ । फूल पनि राम्रो भएन,’ उहाँले भन्नुभयो । उनीहरूले एउटा मालालाई २५ देखि ३० रुपैँयामा बेच्ने गरेका छन् ।
फूल खेतीमा धेरै मिहिनेत परे पनि श्रमको मूल्य नआउने कृषकहरूको गुनासो छ । सिन्धुली घर भई गुण्डु बस्दै आएका सुबास ब्लोले पनि फूललाई मिहिनेत धेरै गर्नु परे पनि उचित मूल्य नआउने बताउनुभयो । बैशाखमा बेर्ना राखी फूल रोप्न तयार हुन्छ । ‘फूल रोपेदेखि नै दैनिक पानी हाल्नु पर्छ । समयसमयमा किटनाशक औषधि, बढ्ने औषधि हाल्नुपर्छ । साउनको पहिलोको हप्ताबाट फूल टिप्न तयार हुन्छ,’ उहाँले भन्नुभयो, ‘यो वर्ष तीन हजार माला तयार भएको छ । फूल किन्न दैनिक ठेकदार आउँछ । तर हाम्रो मिहिनेतको मूल्यनै आउँदैन ।’
चारजनाको परिवार रहेको उहाँका छोराछोरी स्कुलमा पढ्न जान्छन् । मालाबाट बार्षिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुने उहाँले सुनानुभयो । सो रकम केटाकेटी पढाउन, खुवाउन खर्च हुने उहाँको भनाइ छ । उहाँले जग्गा भाडामा लिएर फूल खेती गरेको बताउनुभयो ।
नगरपालिकाबाट फूल खेतीमा बिऊ अनुदान
सूर्यविनायक नगरपालिकाले व्यावसायिक फूलखेती गर्नका लागि फूलको बीऊ अनुदान दिँदै आएको छ । सूर्यविनायक नगरपालिकाका नगर उपप्रमुख जुना बस्नेतले नगरभित्रका स्थानीयलाई ८० प्रतिशत नगरपालिका र २० प्रतिशत स्थानीयको लागतमा फूलका बिऊ वितरण गरेको बताउनुभयो ।
तर नगरपालिकाले दिएको फूलका बिऊले राम्रो उत्पादन नदिएको गुनासो कृषकको छ । गुण्डुका सीता थापाले नगरपालिकाले दिएको बिरुवा राम्रो नभएपछि अर्कै बिऊ रोपेको बताउनुभयो । फार्म बनाएर रोप्नेको फूल राम्रो भए पनि बाहिर रोप्नेको राम्रो नभएको उहाँले सुनाउनुभयो । भक्तपुरमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा व्यावसायिक रुपमा मखमली र सयपत्री फूल खेती हुँदै आएको छ ।
तिहारमा भक्तपुरमा वार्षिक चारदेखि पाँच करोडसम्मको फूल बिक्री हुने नगरपालिकाले जनाएको छ । तर स्थानीय तहले व्यवसायिक फूल खेती गर्नेलाई सहयोग नगरेको फूल व्यवसायीहरू बताउँछन् । ताथलीका राम बनमालाले अन्य सामग्रीको भाउ निर्धारण भए पनि फूल र मालाको भाउ निर्धारण गरी नदिएकोमा दुखेसो पोख्नुभयो । फूलको मूल्य निर्धारण नभएसम्म कृषकहरू बिचौलियाको मारमा पर्ने उहाँले बताउनुभयो ।
भक्तपुरमा उत्पादित फूल भक्तपुरभित्रैका बजार, काठमाडौं, ललितपुरलगायत स्थानमा बिक्री हुने उनीहरू बताउँछन् ।