भैरहवा । सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान गर्ने भएको छ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले २२ कात्तिकदेखि प्रदेश ५ र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान गर्न लागेको हो ।
आठ वर्षदेखि सेवा दिँदै आएको एयरलान्सले ५० सिट क्षमताको जेट विमानबाट दुई औधोगिक क्षेत्रलाई जोड्न दैनिक उडान गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए । हालसम्म कुनै पनि एयरलाइन्सले विराटनगरबाट भैरहवाको सिधा उडान गरेका छैनन् । एयरलाइन्सले हाल नौ वटा स्थानमा उडान गर्दै आएको छ । भैरहवा–विराटनगर थपिएसँगै अब दैनिक उडान संख्या १० पुगेको छ । तीन वटा जेट विमानबाट सेवा दिँदै आएको एयरलाइन्सले अरु भन्दा सहुलियत, सुरक्षित र अनटाइम उडान गर्ने दाबी गरेको छ । जहाजलाई गन्तव्यमा पुग्न ५३ मिनेट लाग्ने एयरलाइन्सले जानकारी दिएको छ ।
सौर्यले ६ हजारमा दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उड्ने र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनेछ । कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक उडान गरिरहेको छ । चाडै नै नेपालगन्ज र राजविराजको उडान पनि थाल्ने कम्पनीले जनाएको छ ।