सुर्खेत । नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार राति साढे ८ बजे मुख्यमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।
आजै दिउँसो नै शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ । तर, नाम भने टुंगो लाग्न बाँकी छ ।
मन्त्रालय भागबण्डामा दलहरूबीच मतभेद रहेकाले उहाँले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लाग्नुभएको हो । कांग्रेसले मुख्यमन्त्रीसहित दुई, माओवादी केन्द्रले चार, नेकपा (एकीकृत समाजवादी) ले तीन मन्त्रालयको दाबी गरिरहेका छन् ।
तर, सांसद संख्याका आधारमा कांग्रेसले मुख्यमन्त्रीसहित एक, माओवादीले चार र एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने गरी छलफल भइरहेको एक सांसदले बताउनुभयो ।