नेपालगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा उहाँले निर्धारित समयमा हुन नसके समय थप गर्ने सीमा नै नरहेकाले कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको हो । कांग्रेसको १४औँ महाधिवेशन ९–१३ मंसिरमा गर्ने तयारी छ ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न बारम्बार सुझाव दिँदै आएको उहाँको भनाइ छ ।
पछिल्लो समय कुनै पनि राजनीतिक दलहरूले व्यवस्थालाई संस्थागत गर्नका लागि महत्व नदिँदा सबैको ध्यान सत्ता केन्द्रित हुन पुगेको बताउनुहुँदै नेता पौडेलले यसले मुलुकलाई नै अस्थिरताको भूमरीमा फसाइएको बताउनुभयो ।