धनगढी । तीन दिनदेखिको अविरल बर्षाले सुदूरपश्चिममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा आएको बाढीका कारण सयौं घर जोखिममा परेका छन् । महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो । यसैगरी, कञ्चनपुरका अन्य स–साना नदी तथा खोलामा पनि पानीको बहाव बढेको र धेरै स्थानमा बस्ती नै जोखिममा परेका उहाँले बताउनुभयो ।
कर्णाली नदीमा आएको बाढीले रानी जमरा–कुलरिया सिंचाई आयोजनाअन्तर्गतको ड्याम भत्किँदा कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेका छन् । अहिलेसम्म कर्णाली नदीको बाढीबाट ७० भन्दा बढी घरपरिवार विस्थापित भइसकेका छन् । कैलालीको खुटिया नदी, मोहना नदी लगायत स–साना नदी तथा खोलामा पानीको बहाव उच्च बनेको छ ।
बझाङस्थित सेती नदीले पनि बितण्डा मच्चाएको छ । स्थानीयका अनुसार सेती नदी र स्थानीय बाहुली खोलामा पानीको बहाव अत्याधिक बढ्दा सदरमुकाम चैनपुर जोखिममा परेको छ । सदरमुकाममा निर्माणाधीन बसपार्क समेत बगाएको छ । सुदूरपशिचममा बाढी र पहिरोमा परी अहिलेसम्म चार जनाको मृत्यु भसकेको पुष्टि भएको छ ।
कैलालीको खुटिएकाले बगाउँदा गोदावरी–८ का ३० बवर्षीय गणेश आउजी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा पहिरो जाँदा स्थानीय ३० बर्षियय बिष्णु अवस्थी र उनकी ६ बर्षीया छोरीको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका–६ स्थित वीरबहादुर कुञ्जेडाको घरमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ ।
बझाङको थलारा गाउँपालिका–४ मा पहिरो जाँदा २३ जना बेपत्ता भएको सूचना छ । बाढी तथा पहिरोमा परी दर्जनभन्दा बढी पशुचौपाया मरेका छन् भने सयौं परिवार विस्थापित भएका छन् ।
सुदूरपशिचम प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीले प्रभावित सबै क्षेत्रमा राहत तथा उद्धारका लागि सरकार लागि परेको बताउनुभयो । प्राकृतिक प्रकोपपछि प्रदेश सरकारको आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाइएको उहाँले बताउनुभयो ।
यसैगरी विभिन्न स्थानमा फसेका नागरिकको उद्धारका लागि दुई वटा हेलिकोप्टर पठाएको मन्त्री जोशीले बताउनुभयो । बैतडीको ढुंगाडमा फसेका ६० जनाको उद्धारका लागि ठुलो हेलिकोप्टर त्यसतर्फ पठाएको उहाँको भनाइ छ । यसैगरी कञ्चनपुरको ब्रह्मदेउस्थित महाकाली टापुमा फसेका पाँच जना तथा कैलालीको मोहन्याल गाउँपालिकास्थित ठुलीगाढको दोभानमा फसेका दुई जनाको उद्धारका लागि पनि हेलिकोप्टर तयारी अवस्थामा रहेको मन्त्री जोशीले बताउनुभयो । मौसम अनुकुल हुनासाथै उद्धार हुने उहाँले बताउनुभयो ।
बझाङमा ठुलो मानविय क्षेति भएको भन्ने खबर आए पनि सञ्चारबिच्छेद हुँदा एकिन विवरण प्राप्त हुन नसकेको मन्त्री जोशी बताउनुभयो ।