काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका पुराना नेता एवं संविधानसभा सदस्य अमृतलाल राजवंसी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बालकोटमा राजवंसीलाई एमाले प्रवेश गराउनुभएको हो ।
सो अवसरमा अध्यक्ष ओलीले नयाँ पुराना दुवै प्रकारका राजनीतिकर्मीहरुको आकर्षण एमाले भएको बताउनुभएको छ । कांग्रेस हुँदा सिकेका राम्रा कुरा एमालेमा उपयोग गर्न र त्यहाँ भएका विसंगी र विकृति उतै छाडिदिन अध्यक्ष ओलीले राजवंसीलाई आग्रह गर्नुभएको छ । पार्टीका नवप्रवेशीहरुलाई एमालेले उचित जिम्मेवारी दिने ओलीले बताउनुभएको छ ।
आफूले कांग्रेसमा लामो योगदान गरे पनि त्यसको कहिल्यै मूल्यांकन नभएको, देश र जनताको पक्षमा केपी ओलीको जस्तो अडान अरु कुनै नेतामा नदेखेकोले आफू एमाले प्रवेश गरेको राजवंसीले बताउनुभयो ।
कार्यक्रममा एमाले प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य देवेन्द्र दाहाल, जिल्ला अध्यक्ष चिन्तन पाठकलगायत झापाली नेताहरुको सहभागिता रहेको थियो ।