काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।
भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको छ ।
यसैगरी राष्ट्रियसभा बैठक एक हप्तासम्मका लागि स्थगित भएको छ ।
आज बिहान बसेको बैठकले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक यही असोज १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेर अवरोध जारी राखेका थिए ।
एमालेको अवरोधबीच अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक अघि बढाउनुभएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले उक्त विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।