काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले देउवा सरकारले कालो धनलाई सेतो बनाउने गरी गरिएको व्यवस्था तत्काल फिर्ता लिनुपर्ने माग गर्नुभएको छ ।
सोमबार बसेको राष्ट्रियसभाको बैठकलाई अवरोध गर्ने क्रममा सुरुमै एमाले सांसद गुरुङले सरकारले कालोधनलाई सेतो बनाउने गरी कानुनमै गरेको व्यवस्थाप्रति कडा आपत्ति प्रकट गर्दै तत्काल फिर्ता लिनुपर्ने माग गर्नुभयो ।
दुवै सदनमा प्रमुख प्रतिपक्षीको विरोधका बावजुद पनि सरकारले कालो धन सेतो बनाउने गरी गरिएको व्यवस्था तत्काल फिर्ता लिनुपर्नेमा उहाँले जोडदार माग राख्नुभयो ।
उहाँले बैठकमा उपस्थित अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै स्रोत नखुलेको सम्पत्ति भित्र्याएर मुलुकलाई आर्थिक विसंगतितिर लैजान खोजेको आरोप लगाउनुभयो ।
“कालोधनलाई सेतो बनाउने जुन कुरा यहाँ छिरेको छ। यसले मुलुकको अर्थतन्त्रलाई गम्भीर असर पार्न सक्छ । भूतप्रभावी कानुन बनाउन पाइँदैन”, उहाँले भन्नुभयो, “संविधानले नचिन्ने आर्जनलाई वैध बनाउन खोजिँदैछ। कालो धनलाई सेतो बनाउने काम हुँदैछ। संविधानले आर्जनको रुपमा नमान्ने कालोधनलाई भूतप्रभावी कानुन बनाएर वैधानिक बनाउनु गलत हो।”
उहाँले यसले देशका कुनै उद्योगी व्यवसायीलाई फाइदा नगर्ने पनि बताउनुभयो “अर्थमन्त्री बडो क्रान्तिकारी नेता हुनुहुन्छ । उहाँको क्रान्तिकारिता कालोधनलाई सेतो बनाउनलाई हो ?” गुरुङले भन्नुभयो, “कुन श्रमजीवि जनतालाई सहुलियत दिन उहाँले यस्तो कानुन ल्याउनु भएको हो ? स्रोत नखुलेको सम्पत्ति ल्याउन दिने व्यवस्थाले कुन राष्ट्रिय पुँजिपति र उद्योगपतिलाई सहुलियत दिन्छ ?”
उहाँले अर्थमन्त्री शर्माको निर्णयप्रति व्यंग्य गर्नुभयो । “यो क्रान्तिकारिता, यो सहुलियत कसलाई ? कालो धनलाई सेतो धन बनाउने कहाँको क्रान्तिकारिता हो ?”, उहाँले प्रश्न गर्नुभयो, “यो प्रावधान तत्काल खारेज हुनुपर्छ । सत्ता पक्ष यो चाहिरहेको छैन तर हामी विरोध गरिरहन्छौँ।”
नेपालको संविधानले गैरकानुनी सम्पत्तिलाई नचिन्ने भएकाले तत्काल खारेज गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो। “केही व्यक्तिको गैरकानुनी आम्दानीलाई वैधानिकता दिन यस्तो प्रावधान राखिएको छ,” उहाँले भन्नुभयो, “देशको अर्थतन्त्रलाई गम्भीर असर पार्ने प्रावधान नहटाएसम्म हामी विरोध गरिरहन्छौँ ।”