काठमाडौं । दल विभाजन गर्न ल्याइएको अध्यादेश फिर्ता गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

सो अध्यादेश निष्क्रिय बनाएरमात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा भइसकेकाले आजको बैठकमा सो बिषयले प्रवेश पाउने बालुवाटार स्रोतले बताएको छ ।

देउवा सरकारले नेकपा एमाले र जसपा विभाजनमा सहयोग पुर्‍याउन संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी अध्यादेश जारी गरेको थियो । सोहीअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनिसकेका छन् ।

अध्यादेश निष्क्रिय नबनाई मन्त्रिपरिषद् विस्तार गर्दा जसपा र अन्य राजनीतिक दल विभाजित हुने सम्भावना बढेपछि अध्यादेश फिर्ता लिन लागिएको हो । अध्यादेश फिर्ता लिएपछि माधव नेपाल र उपेन्द्र यादव समूह पनि सरकारमा सहभागी हुने बताइएको छ ।