काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ ।
राष्ट्रियसभा बैठक बिहान ११ बजे बस्नेछ भने प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालय जनाएको छ ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागनम विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने सचिवालयले बताएको छ ।
प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यलयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।