काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ ।
महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाका क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली सोमबारसम्म सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
कांग्रेसमा करिब नौ लाख क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता पनि हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाका पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छान्ने व्यवस्था रहेको छ ।
कांग्रेसले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । ती जिल्लामा वडा अधिवेशन पनि सम्पन्न भइसकेको छ । वडा अधिवेशन भइसकेका ५५ जिल्लामा शनिबारदेखि गाउँ-नगर अधिवेशन थालिएको केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । कांग्रेसले केही जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर दशैँअघि नै सबै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।