काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिएर मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
सत्तागठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवादले गर्दा मन्त्रिपरिषद विस्तार हुन ढिलो भइरहेको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जोडबलमा देउवा सरकारले यो अध्यादेश २३ भदौमा प्रतिनिधिसभामा टेबल गरेको छ । तर यो अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जनता समाजवादी पार्टी (जसपा) को अडान कायमै छ ।
अध्यादेश र त्यसअनुसार भएका कामविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशसमेत समेत मानेन ।
अब अध्यादेश फिर्ता लिन एकीकृत समाजवादीका नेताहरु सकारात्मक देखिएको भन्दै एक नेताले भन्नुभयो, ‘एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुसँग छलफल गरेर टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिइएको छ ।’
सत्तारुढ दलहरुसँग छलफल गरेर केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको एक नेताले बताउनुभयो । दुई महिनाअघि शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले अझै पूर्णता पाउन सकेको छैन । सरकारले पूर्णता नपाउँदा देशका महत्वपूर्ण कामहरु अलपत्र परेका छन् । योजनाहरुको कार्यान्वयन पक्षमा ढिलासुस्ती देखिएको छ । देश विकासले गति लिन सकेको छैन । मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै देउवाको आलोचना सर्वत्र भएको छ ।