काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लमजुङको राइनास नगरपालिकामा कांग्रेसको देउवा पक्ष र पौडेल पक्षबीच चर्को विवाद भएको छ । दुवै पक्षबीचको विवादले उग्र रुप लिएपछि मतपत्र नै जलाइएको छ । मतपत्र जलाइएपछि त्यहाँ चुनावी कार्यक्रम नै भाँडिएको छ । राइनासमा नुरराज कडरिया र श्रीकृष्ण सिग्देल प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचन समितिले मतपत्रमा दुवै उम्मेदवारको क्रम संख्या १ मात्रै राखेको थियो । श्रीकृष्ण पौडेलको नाममा भोट हाल्ने कोष्ठ पनि राखिएको थिएन । दिउँसो चुनावी प्रक्रिया सुरु भएपछि मतदाताले मतदान अधिकृत दिनेश चिलुवालले जानाजान एउटा उम्मेदवारको पक्ष लिएको भन्दै विवाद उत्पन्न भएको थियो ।
त्यतिबेलासम्म २०२ मतदातामध्ये १२३ जनाले मतदान गरिसकेका थिए । सभापतिका उम्मेदवार श्रीकृष्ण पौडेलले सुनियोजित रुपमा आफूलाई हराउन खोजेको आरोप लगाउनुभएको छ ।
‘आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन खोज्ने हाम्रो चाहना थियो । तर निर्वाचनको नतिजा स्वीकार्न नचाहने व्यक्तिले यस्तो गरे’,उहाँले भन्नुभयो,‘मतपत्रमा पहिलो अल्फाबेट अनुसार मेरो नाम सुरुमा हुनुपर्ने। श्रीकृष्ण पहिलो हुन्छ र नुरराज पछि हुनुपर्छ, कुनै एकमा रेजा लगाउनुहोस् भनेको छ, मेरोमा कोलम नै छैन, भोट कहाँ हाल्ने ?”
उहाँले आफ्नो क्रम संख्या २ हुनुपर्ने तर्क जिकिर गर्नुभयो । “साथीहरुलाई २ नम्बरमा मत हाल्नु भनेँ । तर त्यहाँ भोट हाल्ने ठाउँ नै छैन”, उहाँले भन्नुभयो, “पार्टीलाई कब्जा गर्ने प्रवृत्ति हावी भयो।”
सभापतिका अर्का प्रत्यासी नुरराज कडरियाले मतदान अगाडि बढाउनुपर्ने अडान लिनुभएको छ । कोठा नभएको विषयलाई सहमतिमा टुंग्याउने प्रस्ताव राखे पनि अर्को पक्षले अस्वीकार गरेको उहाँले बताउनुभयो ।
कडरियाले कोष्ठ बनाउने-नबनाउने कुरामा आफ्नो सरोकार नभएको बताउँदै षड्यन्त्र नगरिएको जिकिर गर्नुभयो ।
निर्वाचन अधिकृत दिनेश चिलुवालले मतपत्र छापिँदा एउटामा कोठा भएको र अर्कोमा नभएकाले निर्वाचनको क्रममा विवाद भएको बताउनुभयो । उहाँले चुनाव रद्ध भएकाले अर्को सूचना नआएसम्म आफूले केही गर्न नसक्ने बताउनुभयो ।
राइनासमा देउवानिकट मानिएका यसअघि कांग्रेस प्रजातान्त्रिकका सभापति पनि भएका नेता तुलसीनारायण श्रेष्ठ र जिल्ला सभापतिका दावेदार डा टंकराज गुरुङको क्षेत्र हो । दुवै त्यहाँका क्षेत्रीय प्रतिनिधि हुन् ।
सभापतिका प्रतिस्पर्धी नुरराज कडरिया र श्रीकृष्ण सिग्देल हुन् । तुल्सीनारायण विवाद समाधान समितिका संयोजकसमेत हुन् । तर, यति ठूलो लफडा हुँदा पनि दुवै नेता मौन बसेको पौडेलले बताउनुभयो ।
आफूलाई सर्वसम्मत सभापति बनाउने सहमति बन्दा पनि नदिइएको गुनासो उहाँले सुनाउनुभयो । “उहाँहरु (तुल्सीनारायण र टकराज) मौन रहनुभयो । विवाद समाधान समिति संयोजक नै तुलसीनारायण हुनुहुन्छ ।”