काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।
शुक्रवारदेखि ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको बैठकमा शनिबाराविधान महाधिवेशनमा पेस गर्ने विभिन्न प्रस्तावमाथि समूहगत छलफल भएको थियो ।
शुक्रवारको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरूले शनिवारको बैठकमा निष्कर्षसहितको सुझाव प्रस्तुत गर्नुभएको थियो ।
शनिवारको बैठकमा समूहगत सुझाव पेस गर्ने काममात्रै भएकाले अध्यक्ष केपी शर्मा ओलीलगायतले जवाफ दिने काम नसकिएकोले बैठक आजसम्मका लागि लम्बाइएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमा समूहगत छलफलबाट आएका सुझावहरुको आज जवाफ दिनुहुने छ ।
शुक्रबारको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नु भएको थियो । यी विभिन्न प्रस्ताव माथि शनिबार समूहगत छलफल भएको थियो ।