काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरूले अध्यादेश र मन्त्रिपरिषदलाई पूर्ण दिने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको बैठकमा अध्यादेश खारेजी र मन्त्रिपरिषदलाई पूर्ण दिने विषयमा छलफल भएको हो ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहेको छ । सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धि अध्यादेशबारे अन्तरिम आदेश जारी नगरेर मन्त्रिपरिषद विस्तारका लागि सजिलो पारिदिएको सत्तारुढ दलका नेताहरुको बुझाइ छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिनाभन्दा बढी समय बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा यो सरकारप्रति जनताको नैराश्यता बढ्दै गएको छ । मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको पार्टीभित्र र बाहिर सर्वत्र आलोचना भइरहेको छ ।