काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीमा एकता कायम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
शनिबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक दस्तावेजका साथै विधान संशोधन मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्षहरु पेश भएको थियो ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार नेताहरुले आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने भएकाले तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘स्थानीय तहमा पहिलेको भन्दा राम्रो परिणाम ल्याउने गरी काम गर्नुपर्छ । आगामी संसदीय र प्रदेशको निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी सम्पूर्ण शक्ति एकतावद्ध हुनुपर्छ भनेर सुझाव आएको छ ।’
उहाँका अनुसार छलफलमा नेताहरुले पार्टीमा युवाका साथै महिला, आदिवासी जनजाति, महिला, मधेसीलगायतको सहभागिता बढाउनुपर्ने बताएका छन् । एमाले एकताको प्रतीक भएको भन्दै नेताहरुले कम्युनिस्ट एकताका लागि पहिले एमालेले नै अगुवाइ गर्नुपर्नेमा जोड दिनुभएको छ ।