काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले कुर्सीको गरिमालाई जोगाउन नसकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा दिन सुझाव दिनुभएको छ ।
मंगलबार राष्ट्रियसभामा समय लिएर उहाँले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै सभामुखको राजीनामा माग गर्नुभएको हो ।
‘कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल उहाँ (सभामुख) ले एउटा निकास दिनुपर्छ । त्यो निकास भनेको राजीनामा हो,’ सांसद श्रेष्ठले भन्नुभयो ।
राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक (बजेट) पेश भएको छ । विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा एमालेले अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले एमाले सांसद श्रेष्ठलाई बोल्न समय दिनुभएको थियो । त्यसपछि एमाले सांसद श्रेष्ठले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने माग गर्नुभयो ।
सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरिएको नाम टाँस नगरी पार्टी फुटाएको आरोप लगाउँदै निरन्तर राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै आएको छ ।