काठमाडौँ । सर्वोच्च अदालतले एकीकृत समाजवादीका माधव नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दामा आज पनि सुनुवाइ गर्दैछ ।
न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज पनि सुनुवाइले निरन्तरता पाउने भएको छ ।
आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उहाँले १४ जना सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध रिट दायर गर्नुभएको थियो ।
एमालेले १ भदौमा संसद सचिवालयमा सांसदमाथिको कारवाहीको निवेदन दर्ता गरेको थियो । तर, सभामुख सापकोटाले विचाराधीन राखेका थिए । कारवाही विचाराधीन रहेकै बेलामा माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए । नयाँ पार्टी दर्ता भइसकेको हुनाले सभामुखले कारवाही गर्नु नपर्ने निर्णय गरेका थिए ।
एमालेले १४ जना सांसदलाई कारवाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेर सभामुख पार्टी फुटाउने मतियार बनेको आरोप लगाउँदै आएको छ । १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ ।