काठमाडौं । आजदेखि सोह्रश्राद्ध सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरू भएको छ ।
सोह्रश्राद्ध आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष भन्ने गरिन्छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धाभक्तिसाथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने चलन रहेको छ । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मर्त्यलोकमा झर्छन् भनी धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीयरुपमा दिइएका विकल्पअनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य धर्मग्रन्थहरुमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्यमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोदिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एकोपार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।
यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण मानिस जम्मा हुन सक्ने अवस्था छैन ।
अरुको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । अरुको घरमा श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्ने गरिएको हो । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ ।




















