काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीमा पेश भएका तीनवटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने बताउनुभएको छ । उहाँले आइतबार र सोमबार बसेको स्थायी कमिटी बैठकमा पेश भएका राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटी बैठकमा लगिने जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन मस्यौदा, महासचिव ईश्वर पोखरेलले तयार पारेको संगठनात्मक प्रतिवेदन मस्यौदा र उपमहासचिव विष्णुप्रसाद पौडेलले तयार पारेको विधान संशोधन मस्यौदामाथि स्थायी कमिटीमा छलफल भएको छ ।
यी तीनवटै प्रतिवेदन मस्यौदामाथि स्थायी कमिटी सदस्यहरुले राखेको टिप्पणी गरेका थिए । आगामी १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुको समेत सुझाव समेटिने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । असोज ८ र ९ गते एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।