काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि पार्टीभित्र अराजकता र गुटबन्दी बढेको बताउनुभएको छ ।
उहाँले आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा पेश गरेको ५३ पृष्ठ लामो संगठनात्मक प्रस्तावमा सो कुरा उल्लेख गर्नुभएको छ । उहाँको सो प्रस्ताव असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेश हुनेछ । १३ बुँदामा समेट्दै उहाँले पार्टीभित्र अराजकता बढेको, अनुशासनको पालना नभएको कुरा उठाउनुभएको छ ।
‘यतिबेला पार्टीभित्र संगठनात्मक अराजकताको स्थिति देखा परेको छ । विगतमा एमालेभित्र उत्पन्न अन्तरविरोधलाई त्यहीँभित्रको स्थापित प्रणालीले एक किसिमले बाँधेर राखेको थियो,’ पोखरेलको प्रस्तावमा उल्लेख गरिएको छ, ‘माओवादी केन्द्रसँगको एकतापछि त्यो अवस्था रहेन । माओवादीभित्रको व्यक्ति केन्द्रित संगठनात्मक अभ्यास खुला राजनीतिमा आएपछि संगठनात्मक अराजकताका रुपमा संस्थागत भयो र दुई पार्टीबीचको एकतापछि नेकपामा भित्रियो ।’
माओवादी अध्यक्ष प्रचण्डमा रहेको व्यक्तिकेन्द्रित अवसरवाद एमालेभित्रको समूहमा अन्तरघुलन भई पार्टी र आन्दोलन नै संकटमा पर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभएको छ ।
उहाँले माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरूलाई लक्षित गर्दै अराजकताको अन्त्य अझै नभएको उल्लेख गर्नुभएको छ ।
‘पार्टीबाट माधव नेपालको नेतृत्वमा एउटा समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको समस्या अन्त्य हुने छैन,’ पोखरेलको प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘आगामी दिनमा योजनाबद्धरुपमा संगठनात्मक अराजकता र गुटबन्दीका विरुद्धमा वैचारिक र राजनीतिक अभियान चलाउनुपर्छ।’
आदर्श र व्यवहारबीचको अन्तरविरोध, जनसंगठनको प्रभावकारी परिचालनको समस्या, परिणाममुखी कार्यविभाजनको समस्या, काठमाडौं उपत्यकाको पार्टी कामको व्यवस्थापनको समस्या, पार्टी काममा दोहोरोपनको समस्या, वर्ग दृष्टिकोणमा भन्दा पहिचानको मुद्दामा आकर्षित हुने समस्या नेताहरुको मूल्यांकनको समस्याजस्ता विषयलाई महासचिव पोखरेलले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
यस्तै संगठनात्मक अराजकता र गुटबन्दीको समस्या, गैर भौगोलिक क्षेत्रको कामको संयोजनको समस्या, वैधानिक व्यवस्थाअनुरुप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या, ठूला आकारका कमिटीहरु सञ्चालनको समस्या, पार्टी सदस्यता मापदण्ड पालनाको समस्या, अध्ययन र प्रशिक्षणको कमी गरी १३ बुँदामा पार्टी निर्माणमा देखिएका समस्या उहाँले उठाउनुभएको छ ।
त्यसैगरी उहाँले प्रतिवेदनमा पुस ५ पछि नेकपा एमालेमा युवाहरुको आकर्षण बढेको उल्लेख गर्नुभएको गर्नुभएको छ ।
युवाहरुलाई व्यवस्थित कार्ययोजनासहित काममा जोड्न आवश्यक रहेको र त्यसको व्यवस्थित अभिलेख अझै तयार नसकेको उहाँले उल्लेख गर्नुभएको छ ।