काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी सदस्यता लिने संख्या ६ लाख हाराहारी पुगेको बताएको छ ।
विधान महाधिवेशनमा पेश गर्न पार्टी महासचिव ईश्वर पोखरेलले तयार पार्नुभएको संगठनात्मक प्रतिवेदन मस्यौदामा पार्टी सदस्यता लिने संख्या दोब्बरभन्दा धेरैले बढेको जनाइएको छ ।
प्रतिवेदनअनुसार २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनसम्म एमालेको पार्टी सदस्यता संख्या २ लाख ५६ हजार ७७२ थियो । तर अहिले बढेर ६ लाख हाराहारी पुगेको महासचिव पोखरेलले तयार गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।
गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि एमालेमा युवाको आकर्षण बढेको महासचिव पोखरेलले पेश गरेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
पोखरेलद्वारा तयार गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ- ‘२०७७ पुस ५ पछिको अवस्थामा पार्टीमा युवाहरुको आकर्षण बढेको छ, यस बीचका अनेक किसिमका राजनीतिक र संगठनात्मक उचारचढाव र प्रतिकूलताका बीचमा नयाँ सदस्यता प्रदान गर्ने र सदस्यता नवीकरण गर्ने काम अघि बढाइएको छ ।’
‘सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता प्रदान गर्ने, अरु समूहबाट आएकाहरुको नवीकरण वा नयाँ सदस्यता प्रदान गर्ने जस्ता कुरामा रहन गएको लामो समयको अलमलले सदस्यताको अभिलेख पूर्ण रुपमा व्यवस्थित गर्न सकिएको छैन,’ महासचिव पोखरेलले प्रतिवेदनमा लेख्नुभएको छ ।
मस्यौदा प्रतिवेदनले माओवादीसँग एकता गरेपछि अलमलमा परेको संगठन विस्तार विभाजनपछि पनि तीव्र बनेको समेत उल्लेख गरिएको छ । पार्टी विभाजनले केन्द्रीय कमिटीमा २० प्रतिशत र १० प्रतिशत जनप्रतिनिधि गुमाउनुपरेको प्रतिवेदन मस्यौदामा उल्लेख गरिएको छ ।