काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले संविधान दिवसका दिन मानपदवी वितरणका नाउँमा अलङ्कार पदक विभूषणहरूको नाकमा कालो पोतेको बताउनुहुँदै लाजसरम पचेका सत्ताधारीहरु पदकका भोका जुकाहरु भएको आरोप लगाउनुभएको छ ।
ललितपुरको च्यासलमा आज नेकपा एमालेले आयोजना गरेको संविधान दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सत्तारुढ दलहरु पदकका भोका जुकाहरु भएकाले राष्ट्रपतिबाट बाँड्न नलगाई आफैँ बोकेर जान सुझाव दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, किन राष्ट्रपतिबाट बाँड्नुपर्यो ? आफैं–आफैं लगेर घर जाऊ न । उहाँ भन्नुभयो- आजको दिन अर्थात सविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने हो तर यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने । सम्मानित भएको अनुभूति गर्न पाउनुपर्ने । तर, बालाई सम्मान, श्रीमतीलाई सम्मान !
मानपदवी र विभूषणहरू नातावाद कृपावाद र आ–आफ्ना मान्छे छानेर दिएको भन्दै अध्यक्ष ओलीले यो विषय सबैको लागि लज्जाजनक भएको बताउनुभयो । उहाँले इतिहासले यस्ता कामको निर्मम समीक्षा गर्ने बताउनुभयो । ‘कति हाइसन्चो, बालाई सम्मान, श्रीमतीलाई सम्मान, मुद्दा जिताउने र हराउनेहरूलाई सम्मान’ उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले शासन सत्तामा भोका जुकाहरू भएको बताउनुहुँदै हिजो अरूजस्तो पदलोलुप होइन म नातावादी कृपावादी छैन म जनताको हो भनेर गफ गर्नेहरूले आज व्यवहारमा मौका पाउँदा लाजसरम सब भुलेर पदक बाँडेको बताउनुभयो ।
आजको दिन सहिदका सन्तानले गर्व गर्न पाउनुपर्ने,शहीदका आमाबाबुले गर्व गर्न पाउनुपर्ने, घाइतेहरूले सम्मानित हुन पाउनुपर्ने दिन भएको बताउनुहुँदै उहाँले सरकारले गलत मान्छेहरुलाई पदक बाँडेर लोकलाजकै खिल्ली उडाएको बताउनुभयो ।
अध्यक्ष ओलीले प्रश्न गर्नुभयो- ‘ आजको दिन आफ्नो बाबुको मुख हेर्ने दिन हो ?, आफ्नो श्रीमतीको मुख हेर्ने दिन हो ? आफ्नो छोराछोरीको मुख हेर्ने दिन हो ?’ उहाँले, ‘थप्नुभयो कस्तो भोक ? कस्तो आकाङ्क्षा ? कस्तो अतृप्ति ? बाहिर निस्किएर भाषण ग-यो भने केही चाहिएको छैन अनि सबै आफ्ना मान्छेलाई सम्मान, अलङ्कार र पदक विभूषणहरुको नाकमा कालो पोतियो ।’