काठमाडौँ । सातौँ संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ का अवसरमा देशभित्र तथा बाहिर रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानले प्रत्याभूत गरेका नागरिकका इच्छा आकाङ्क्षालाई कार्यरुप दिनु सम्पूर्ण राजनीतिक दललगायत हामी सबैको युगिन अभिभारा भएको उल्लेख गर्नुभएको छ ।
“लामो समयको संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोणसहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेका छन्,” राष्ट्रपतिले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरूप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकोमा सम्मान र त्यस दिनको स्मरण गर्नुहुँदै राष्ट्रपति भण्डारीले सबैमा शुभकामना व्यक्त गर्नुभएको हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै राष्ट्रपति भण्डारीले मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले संविधानअन्तर्गत नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको र जनता राज्य शक्तिको स्रोत भएको बताउनुभयो ।
उहाँले नयाँ संविधान जारी भए यताका वर्षहरूमा संविधान प्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठुलो योगदान पुग्न गएको सन्देशमा बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले वर्तमान संविधानले सामन्ती, निरङ्कुश र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिकलगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न मार्गदर्शन गरेको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण पूरा भएको र अब मुलुकको आर्थिक समृद्धिका लागि हाम्रा सम्पूर्ण प्रयासहरू केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध जल¸ जमिन र जङ्गल जस्ता प्राकृतिक स्रोत र साधनहरूको दिगो सदुपयोग गर्दै उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो ।
उहाँले संविधानको मर्म र भावना व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमानदार प्रयास जारी राख्न सबैमा आह्वान समेत गर्नुभएको छ ।
उहाँले कृषिको आधुनिकीकरणसहित स्वदेशी उत्पादनद्वारा आयात प्रतिस्थापन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने बताउनुभयो ।
हेर्नुहोस् राष्ट्पति भण्डारीद्वारा प्रेषित शुभकामना सन्देश