Margadarsan


  • संविधान दिवसको कार्यक्रम जसपाद्वारा बहिस्कार

    मार्गदर्शन २ आश्विन २०७८, शनिबार

    काठमाडौं । सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टीले यस वर्षको संविधान दिवसको कार्यक्रम बहिस्कार गर्दै सहभागी नहुने भएको छ ।

    अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने जानकारी दिनुभयो ।

    संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ उनले विज्ञप्तिमा भनेका छन् ।

    यादवले संविधानका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानको विरोध गर्न पनि आह्वान गर्नुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ ‘संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा संविधान संशोधनको आवश्यकता विषयक अन्तर्क्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानको विरोध गर्न आम जनसमुदाय एवं पार्टीको संगठनहरुलाई आह्वान गरिन्छ ।’

    फेसबुक प्रतिक्रिया