काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल बरफका डल्ला भएको र आउँदो चुनावपछि आफैं हराएर जाने दाबी गर्नुभएको छ ।
शनिबार पार्टी निकट कर्मचारी संगठनको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले अबको १४ महिनामा सत्तागठबन्धनमा रहेका दलहरु हराउने आफैँ हराएर जाने टिप्पणी गर्नुभयो ।
‘१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्, कता बिलाउँछन्’ उहाँले भन्नुभयो, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लेर जान्छन् । धेरै चिन्ता गर्नुपर्दैन ।’
आफूले चुनाव गराउन खोज्दा सत्ता गठबन्धनमा रहेका दलहरुले प्रतिगमन हुने भयो भन्दै विरोध गरेको भन्दै उहाँले अब १४ महिनापछि अनिवार्य चुनाव गराउनैपर्ने बताउनुभयो ।
‘१४ महिनापछि त अनिवार्य चुनाव गर्नुपर्छ, के देश अनिवार्य रुपमा प्रतिगमनमा जाने भयो त ?’ उहाँले प्रश्न गर्नुभयो, ‘जनादेश आउँदा प्रतिगमन हुने भयो, संविधान मिचिने भो त ? कस्तो शासन खोजेका छन्, यी तानाशाहरुहरुले ?’