काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले नियम विपरीत गरेको सरुवा बदर गरेका छन् । उनले राष्ट्रिय ट्रमा सेन्टरका तत्कालीन निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. सन्तोष पौडेललाई कान्ति अस्पतालमा सरुवा गर्ने तीन दिनअघिको आफ्नै निर्णय बदर गरेका हुन् ।
ट्रमाको निमित्त मेसु रहेका डा. पौडेललाई गत २९ भदौमा राज्यमन्त्रीस्तरको निर्णयबाट हटाई कान्ति बाल अस्पताल सरुवा गरिकाजमा ट्रमा सेन्टर नै तानेर आफ्नो गल्ती सुधार गरेको बताइएको छ । डा. पौडेललाई शुक्रबार अर्को पत्र थमाउँदै राज्यमन्त्री श्रेष्ठले तीन दिनअघि आफैंले गरेको निर्णय बदर गरेका हुन् ।
पत्रमा भनिएको छ, ‘२९ भदौको निर्णय अनुसार कान्ति बाल अस्पतालमा सरुवा गरी ट्रमा सेन्टरमा कामकाज गर्न खटाइएकोमा उक्त निर्णय १ असोजको राज्यमन्त्रीस्तरको निर्णय अनुसार बदर भएको व्यहोरा अनुरोध छ ।’
मन्त्रालयको कार्यभार सम्हालेको २ महिनामा नीतिगत निर्णय नगरिकन सरुवामा रमाएका उनले यस्ता धेरै
गल्ती गरेका छन् ।
राष्ट्रिय क्षयरोग केन्द्रमा निर्देशक रहेका डा. अनुज भट्टचनलाई कर्णाली प्रदेशमा सरुवा गरी पठाएका श्रेष्ठले नियम विपरीत भएपछि अहिले सो निर्णय पनि फिर्ता लिएका छन् ।
त्यसैगरी मन्त्रालयको समन्वय महाशाखा र सार्क क्षयरोग केन्द्रमा प्रमुखको रुपमा क्रमश डा विवेककुमार लाल र रीता भण्डारी जोशीलाई दिने निर्णय पनि राज्यमन्त्री श्रेष्ठले फिर्ता लिएका छन् । डा विवेकलाई परिवार कल्याण महशाखा र जोशीलाई समन्वय महाशाखामा जिम्मेवारी दिइएको छ ।
११औं तहको सरुवा राज्यमन्त्रीले गर्न नमिल्ने नियम भए तापनि कोभिड-१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनीलाई नियुक्त गरेपछि पनि पत्र फिर्ता लिनुपरेको थियो । त्यसैगरी दरबन्दी खाली नहुँदै राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका नेपाल चिकित्सक संघका महासचिव समेत रहेका डा बद्री रिजालको सरुवा पनि विवादित बनेको छ ।
राज्यमन्त्रीले ऐन नहेरी स्वार्थी समुहको कुरा सुनेर निर्णय गर्दा यस्तो गल्ती भएको मन्त्रालयका एक अधिकारीले बताए । मन्त्रालयका विज्ञ कर्मचारीको कुरा नसुनेरै शक्ति केन्द्रलाई रिझाउन यस्त निर्णय भएको मन्त्रालयका अधिकारीको भनाइ छ । ‘नीति नियम हेरेको या मन्त्रालयको कर्मचारीको कुरा सुनेको भए यति छोटो समयमा यति धेरै गल्ती हुने नै थिएन्,’ मन्त्रालयका एक अधिकारीले भने।
शेरबहादुर देउवाको एक निर्णयबाट राज्यमन्त्री बनेका श्रेष्ठले मन्त्रालयलाई राम्रोसँग चलाउन सकेका छैनन् । उनी एक व्यापारिक व्यक्तित्व भएको हुनाले मन्त्रालय हाँक्न सक्ने क्षमता उनमा नरहेको मन्त्रालयका कर्मचारीहरुले बताएका छन् । त्यसैगरी मन्त्री श्रेष्ठले कुनै पनि नीति नियमलाई नमानी अगाडि बढ्नाले गर्दा स्वास्थ्य क्षेत्रका कामहरु चुस्त दुरुस्त र पारदर्शी ढंगले हुन नसकेको स्वास्थ्य मन्त्रालय स्रोतले दाबी गरेको छ । मन्त्री श्रेष्ठको लहडी ढंगको कार्यशैलीका कारण कर्मचारीहरुको मनोबल गिर्दै गएको गुनासो सरोकारवाला कर्मचारीहरुले गरेका छन् ।